भेनेजुएलामा शक्तिशाली भूकम्प : हालसम्म १८८ को मृत्यु, अन्तर्राष्ट्रिय उद्धार सहयोग तीव्र

Breaking Nepal

शुक्रबार ,असार १२ , २०८३ ०७:४३

काठमाडौं /  भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प जाँदा कम्तीमा १८८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १ हजार ५ सयभन्दा बढी घाइते भएका छन्। अधिकारीहरूका अनुसार दुई सयभन्दा बढी व्यक्ति अझै भग्नावशेषमा फसेको आशंका गरिएको छ भने हजारौं नागरिकसँग सम्पर्क हुन सकेको छैन।

स्थानीय समयअनुसार बुधबार साँझ ४० सेकेन्डको अन्तरालमा ७.२ र ७.५ म्याग्निच्युडका भूकम्प गएपछि राजधानी काराकाससहित देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुगेको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार दुवै भूकम्प उथलो गहिराइमा केन्द्रित भएकाले क्षति व्यापक बनेको हो।

सबैभन्दा बढी प्रभावित तटीय क्षेत्र ला ग्वाइरामा मुख्य अन्तर्राष्ट्रिय विमानस्थल क्षतिग्रस्त भएपछि बन्द गरिएको छ। सडक, विद्युत्, खानेपानी, सञ्चार र ग्यास सेवा अवरुद्ध हुँदा उद्धार तथा राहत वितरणमा कठिनाइ भएको छ। सरकारले देशभर संकटकाल घोषणा गर्दै खोज तथा उद्धार अभियानलाई तीव्र बनाएको जनाएको छ।

कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले पुनर्निर्माण तथा राहतका लागि २० करोड अमेरिकी डलरको कोष स्थापना गर्ने घोषणा गर्दै निजी क्षेत्रलाई पनि उद्धार कार्यमा आवश्यक उपकरण उपलब्ध गराउन आग्रह गरेकी छन्। डोमिनिकन गणतन्त्रबाट पहिलो विदेशी उद्धार टोली पुग्ने तयारीमा रहेको छ भने अमेरिका, ब्राजिल, मेक्सिको, स्पेन, पोर्चुगल, क्यानडा, कतारलगायत मुलुकले राहत सामग्री, चिकित्सकीय उपकरण र उद्धार टोली पठाउने घोषणा गरेका छन्।

राहत तथा उद्धार कार्यलाई सहज बनाउन अमेरिकाले भेनेजुएलामाथिका केही आर्थिक प्रतिबन्ध अस्थायी रूपमा खुकुलो बनाएको जनाएको छ। यसले राहतसम्बन्धी वित्तीय कारोबार सहज हुने अपेक्षा गरिएको छ।

यता, सञ्चार सेवा प्रभावित भएपछि हराइरहेका आफन्तको खोजीमा परिवारहरूले फोटोसहितका सूचना सार्वजनिक स्थानमा टाँस्न थालेका छन्। विद्यालयहरू अस्थायी रूपमा बन्द गरी केही भवनलाई राहत केन्द्र र आश्रयस्थलका रूपमा प्रयोग गर्ने तयारी गरिएको सरकारले जनाएको छ।