व्यवसायिक राहत कोषमा युवा उद्यमीको साथ, एनवाईइएफ झापाबाट सहयोग

Breaking Nepal

शुक्रबार ,असार १२ , २०८३ ०७:५५

झापा / व्यवसायी समुदायलाई विपद्, दुर्घटना तथा अन्य आकस्मिक परिस्थितिमा आर्थिक सहारा उपलब्ध गराउने उद्देश्यले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायिक सदस्य राहत कोष’मा युवा उद्यमीहरूको साथ थप मजबुत बन्दै गएको छ । यसक्रममा नेपाली युवा उद्यमी मञ्च (एनवाईइएफ) झापा च्याप्टरले कोषमा १ लाख १६ हजार ६६६ सहयोग उपलब्ध गराएको छ ।

एनवाईइएफ झापा च्याप्टरको शाखा कार्यालय उद्घाटनपश्चात् आयोजित कार्यक्रममा मञ्चका अध्यक्ष गणेश पौडेलले उक्त रकमको चेक संघका अध्यक्ष राजु न्यौपानेलाई हस्तान्तरण गरेका हुन् । सहयोगसँगै व्यवसायीबीच आपसी सहकार्य, संकटका बेला पारस्परिक सहयोग र सामाजिक उत्तरदायित्वलाई संस्थागत बनाउने प्रतिबद्धता पनि व्यक्त गरिएको थियो ।

संघले २०८१ सालमा १ करोडको लक्ष्यसहित स्थापना गरेको राहत कोषमा विभिन्न व्यवसायी, संस्था तथा दाताबाट निरन्तर सहयोग जुटिरहेको छ । आकस्मिक विपद्का कारण प्रभावित सदस्य व्यवसायीलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको कोषले व्यवसायिक सुरक्षा संयन्त्रको रूपमा विश्वास बढाउँदै लगेको संघको भनाइ छ ।

संघका महासचिव कुशल खतिवडाका अनुसार हालसम्म राहत कोषमा करिब रु ४० लाख संकलन भइसकेको छ । उनका अनुसार हालसम्मको सबैभन्दा ठूलो संस्थागत सहयोग एनवाईइएफ झापा च्याप्टरबाट प्राप्त भएको हो । युवा उद्यमीहरूको यो पहलले अन्य व्यावसायिक तथा सामाजिक संस्थालाई समेत राहत कोषमा योगदान गर्न प्रेरित गर्ने विश्वास संघले व्यक्त गरेको छ ।

कार्यक्रममा एनवाईइएफ झापाका संस्थापक अध्यक्ष प्रवेश वस्नेत, बोर्ड सदस्यहरू, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश सदस्य तथा बिर्तामोड उद्योग वाणिज्य संघका विशिष्ट सदस्य निर्मल भट्टराईलगायत उद्योग–व्यवसाय क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

सहयोग प्रदान गर्ने दाताहरूलाई संघले कदरपत्र प्रदान गर्दै सम्मान गरेको थियो। संघका अध्यक्ष राजु न्यौपानेले राहत कोषलाई व्यवसायीबीचको साझा भरोसाको अभियानका रूपमा विस्तार गरिने बताउँदै विभिन्न क्षेत्रबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरे ।

उनले व्यवसाय केवल नाफा–नोक्सानमा सीमित नहुने उल्लेख गर्दै संकटका बेला एकअर्काको साथ र भरोसाले नै व्यवसायिक समुदायलाई बलियो बनाउने बताए । युवा उद्यमीहरूले देखाएको सहयोगी भावनाले राहत कोषलाई लक्ष्यअनुसार रु १ करोड पुर्‍याउने अभियानमा थप ऊर्जा मिल्ने उनको भनाइ थियो ।

संघले आगामी दिनमा राहत कोष विस्तार अभियानलाई अझ प्रभावकारी बनाउँदै व्यवसायीबीच सहकार्य, एकता र सामाजिक उत्तरदायित्वको संस्कृतिलाई थप सुदृढ बनाउने जनाएको छ ।