९५औँ विराट राधाकृष्ण रथयात्राको तयारी तीव्र, उद्घाटनका लागि प्रधानमन्त्री बालेनलाई निम्त्याउने तयारी

Breaking Nepal

pen
अनुज सापकोटा
शुक्रबार ,असार १२ , २०८३ ०७:५९

विराटनगर / आगामी भदौ २० गते आयोजना हुने विराटनगरको ९५औँ ऐतिहासिक राधाकृष्ण रथयात्रालाई यसपटक थप व्यवस्थित, भव्य र आकर्षक बनाउने तयारी तीव्र पारिएको छ । आयोजक राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले समयमै सम्पूर्ण तयारी सम्पन्न गर्ने लक्ष्यसहित मूल समारोह समिति तथा विभिन्न उपसमिति गठनको प्रक्रिया अघि बढाएको छ ।

समितिको हालै सम्पन्न बैठकले रथयात्रालाई विगतभन्दा फरक र उच्चस्तरीय रूपमा सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष कैलाश रेग्मीले जानकारी दिए। उनका अनुसार आगामी साउन २३ गते धार्मिक सभामार्फत १ हजार १ सदस्यीय मूल समारोह समिति गठन गरिनेछ भने व्यवस्थापनका लागि १६ भन्दा बढी विषयगत उपसमिति परिचालन गरिनेछ ।

रथमार्ग व्यवस्थापन, धार्मिक झाँकी, रथ सजावट, स्वयंसेवक परिचालन, प्राथमिक उपचार, प्राविधिक व्यवस्थापन, प्रसाद वितरण, खानेपानी, सरसफाइ, सामाजिक सञ्जाल, प्रचारप्रसार, अध्ययन–अनुसन्धान, नगर तथा मन्दिर सजावट, विद्युत् व्यवस्थापनलगायतका क्षेत्रमा छुट्टाछुट्टै उपसमिति गठन गरिने समितिले जनाएको छ। आवश्यकता अनुसार थप उपसमिति पनि गठन गर्न सकिने व्यवस्था राखिएको छ ।

गत वर्षदेखि सञ्चालनमा आएको पेगोडा शैलीको नयाँ रथलाई यस वर्ष थप आकर्षक ढंगले सजाइने तयारी छ। नेपाल र भारतका दक्ष कालीगढले निर्माण गरेको उक्त रथ २९ फिट ३ इन्च अग्लो, १४ फिट चौडा र १९ फिट लामो छ । रथलाई दुवैतर्फ १६५–१६५ फिट लामो डोरीमार्फत भक्तजनले तान्ने परम्परा कायम रहनेछ ।

विराटनगरमा राधाकृष्ण मन्दिर स्थापना भएसँगै विसं १९८८ देखि ‘खट यात्रा’का रूपमा सुरु भएको धार्मिक परम्परा विसं २०२५ मा विशाल रथ निर्माण भएपछि रथयात्रामा रूपान्तरण भएको थियो। त्यसयता यो रथयात्रा पूर्वी नेपालको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा स्थापित हुँदै आएको छ ।

यस वर्षको रथयात्रामा हेलिकप्टरमार्फत पुष्पवृष्टि, प्रहरी ब्याण्ड, भजन मण्डली, सांस्कृतिक झाँकी, विभिन्न जातीय सांस्कृतिक टोली तथा डिजेसहितका सांस्कृतिक प्रस्तुतिहरू समावेश गर्ने तयारी समितिले गरेको छ।

यसैबीच, समितिले रथयात्राको उद्घाटन प्रधानमन्त्री  बालेन्द्र शाह ‘बालेन’बाट गराउने विषयमा पनि गृहकार्य अघि बढाएको छ । यसका लागि प्रधानमन्त्री कार्यालयमार्फत औपचारिक निमन्त्रणा पठाउने तयारी भइरहेको अध्यक्ष रेग्मीले बताए । उनका अनुसार हालसम्म कुनै पनि प्रधानमन्त्रीबाट रथयात्राको औपचारिक उद्घाटन नभएको उल्लेख गर्दै यसपटक उच्च राजनीतिक तहको सहभागिताले रथयात्राको राष्ट्रिय महत्व अझ उचो हुने विश्वास गरिएको छ ।

समितिका कार्यालय सचिव निर्मल पौडेलका अनुसार साउन २३ गतेको धार्मिक सभाबाट सम्पूर्ण संरचना गठन भएसँगै व्यवस्थापनका कामले थप गति लिनेछ । रथयात्राको सहज सञ्चालनका लागि रथमार्गमा पर्ने सडकहरूको मर्मत समयमै सम्पन्न गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको उनले बताए ।

आयोजक समितिले विराटनगरवासीसहित सम्पूर्ण भक्तजनको सहभागिता र सहयोगमार्फत यस वर्षको रथयात्रालाई ऐतिहासिक र व्यवस्थित बनाउने लक्ष्य लिएको जनाएको छ ।