Breaking Nepal

जनकपुरधाम । धनुषाको जनकपुर उपमहानगरपालिका–९ स्थित थापा चौकमा रहेको एक होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवालाई पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा गरिएको प्रहरी कारबाहीमा अवैध हातहतियार बरामद भएपछि घटनाबारे विस्तृत अनुसन्धान अघि बढाइएको छ।
पक्राउ पर्नेमा मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ निवासी करिब २० वर्षीय अमन यादव र हंसपुर नगरपालिका–६ सोनीगामाका करिब १८ वर्षीय सुधिर मुखिया रहेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक मनोज यादवका अनुसार शनिबार दिउँसो करिब १ बजे थापा होटलमा खाना खाइरहेका दुई युवकसँग हातहतियार रहेको सूचनापछि वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
प्रहरीले उनीहरूको साथबाट एउटा पेस्तोल, एउटा म्यागजिन, ९ एमएमको एक राउन्ड गोली तथा ७.६५ एमएमका तीन राउन्ड गोली बरामद गरेको जनाएको छ।
बरामद गरिएको हातहतियार तथा गोलीसहित दुवै जनालाई नियन्त्रणमा राखेर हातहतियारको स्रोत, प्रयोगको उद्देश्य तथा सम्भावित आपराधिक सञ्जालसँगको सम्बन्धबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।