भोजपुरमा स्थलगत अनुगमनमा गएका सव–इन्जिनियरमाथि आक्रमण, टाउकोमा पाँच टाँका

Breaking Nepal

मंगलबार ,असार १६ , २०८३ १५:४९

भोजपुर / निर्माणाधीन सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा भोजपुरमा पूर्वाधार विकास कार्यालयका सव–इन्जिनियर आनन्दकुमार साहमाथि कुटपिट भएको छ । निर्माण कार्यको गुणस्तरबारे निर्देशन दिने क्रममा आयोजनामा कार्यरत कामदारको समूहले शाहमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ ।

घटना भोजपुर–मानेभञ्ज्याङ–बैकुण्ठे–वासिखोरा–बालंखा–रानीटार सडकअन्तर्गत रामप्रसाद राई गाउँपालिका–७ मा निर्माणाधीन ढडुवा–आरीखोला सडक खण्डको अनुगमनका बेला भएको हो । स्थलगत निरीक्षणका क्रममा निर्माणको गुणस्तर कायम गर्न निर्देशन दिँदा विवाद उत्पन्न भई कामदारले साहमाथि हातपात गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

आक्रमणबाट घाइते भएका शाहको जिल्ला अस्पताल भोजपुरमा प्रारम्भिक उपचार गरिएको छ । टाउकोमा पाँच टाँका लगाएपछि थप उपचारका लागि विराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक राजु लामाका अनुसार घटनामा संलग्न भएको आशंकामा छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ । दुवै पक्षको बयान तथा घटनाको यथार्थ विवरणका आधारमा कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

यस घटनाप्रति पूर्वाधार विकास कार्यालय भोजपुरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कार्यालयले निर्माणस्थलमा प्राविधिक कर्मचारीमाथि भएको आक्रमणले कार्यस्थलको सुरक्षा चुनौती थप गम्भीर बनाएको उल्लेख गर्दै घटनामा संलग्नमाथि निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।

निर्माण आयोजनाको गुणस्तर सुनिश्चित गर्न खटिएका प्राविधिक कर्मचारीमाथि भएको आक्रमणले सार्वजनिक पूर्वाधार आयोजनामा प्राविधिक जनशक्तिको सुरक्षा, कार्य वातावरण तथा अनुगमन प्रणालीको प्रभावकारितामाथि समेत प्रश्न उठाएको छ ।