मोरङमा ९ लाखभन्दा बढीका अवैध सामान भन्सार बुझाइयो, झण्डै तीन लाख बराबरको खाद्य सामग्री नष्ट

Breaking Nepal

मंगलबार ,असार १६ , २०८३ १७:४३

विराटनगर / सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण मुख्यालय कंकालिनी, मोरङ र मातहतका गुल्म तथा बोर्डर आउट पोस्ट (बीओपी)हरूले सीमावर्ती क्षेत्रबाट बरामद गरेको ९ लाखभन्दा बढी मूल्यको अवैध सामान भन्सार कार्यालयमा दाखिला गरेका छन् ।

सशस्त्र प्रहरीका अनुसार भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेका इलेक्ट्रिकल सामग्री, औषधि, किराना सामान तथा लत्ताकपडा नियन्त्रणमा लिई असार १५ गते विराटनगर भन्सार कार्यालयमा बुझाइएको हो । भन्सार कार्यालयले बरामद सामानको दाखिला मूल्य ९ लाख १ हजार १४५ रुपैयाँ कायम गरेको जनाएको छ ।

यसैबीच, बरामद गरिएका केही खाद्य सामग्री पानीले भिजेर उपभोगका लागि अयोग्य बनेपछि नष्ट गरिएको छ। सशस्त्र प्रहरीका अनुसार करिब २ लाख ७७ हजार रुपैयाँ बराबरका ४५० किलोग्राम छोकडा, टोस्ट बिस्कुट तथा हरियो तरकारी स्थानीय जनप्रतिनिधि र भद्रभलाद्मीहरूको रोहबरमा गण मुख्यालय परिसरमै खाल्डो खनी नष्ट गरिएको हो ।

सीमाक्षेत्रमा अवैध रूपमा हुने सामान ओसारपसार नियन्त्रणका लागि निगरानी र चेकजाँचलाई थप प्रभावकारी बनाइएको सशस्त्र प्रहरीले जनाएको छ ।