Breaking Nepal

काठमाडौं: प्रतिनिधिसभा निर्वाचनको क्रममा फैलिएका अधिकांश मिथ्या सूचना सामाजिक सञ्जालमार्फत प्रसारित भएको एक अध्ययनले देखाएको छ। सेन्टर फर मिडिया रिसर्च (सिएमआर)ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार निर्वाचन अवधिमा देखिएका कुल मिथ्या सूचनामध्ये ८७ प्रतिशत सामाजिक सञ्जालमार्फत फैलिएका थिए।
प्रतिवेदन सार्वजनिक कार्यक्रममा सिएमआरका कार्यकारी निर्देशक तिलक पाठकले फेसबुक मिथ्या सूचना फैलाउने सबैभन्दा प्रभावशाली माध्यम बनेको बताए। अध्ययनले कृत्रिम बुद्धिमत्ता (एआई)बाट तयार गरिएका सामग्रीलाई मिथ्या सूचनाको दोस्रो प्रमुख स्रोतका रूपमा पहिचान गरेको छ।
अनुसन्धानका क्रममा नक्कली भिडियो, सन्दर्भ परिवर्तन गरिएका सामग्री, पुराना दृश्यलाई नयाँ घटनाजस्तो प्रस्तुत गरिएका भिडियो तथा एआईको प्रयोग गरी बनाइएका दृश्यहरू व्यापक रूपमा प्रयोग गरिएको पाइएको छ।
पाठकका अनुसार एआईबाट सिर्जना गरिएका सामग्रीको संख्या बढ्दै गए पनि हालसम्म मिथ्या सूचना फैलाउने मुख्य माध्यम फेसबुकसहितका सामाजिक सञ्जाल नै हुन्। तथ्य जाँच गर्ने प्रयास भइरहे पनि एआईबाट सम्पादन गरिएका भिडियो पहिचान गर्न आवश्यक प्रविधिको अभावले चुनौती थपिएको उनले बताए।
अध्ययनले केही सञ्चारमाध्यमका सामग्रीले अनजानेमा मिथ्या सूचनालाई बढावा दिएको उल्लेख गरेको छ। यद्यपि त्यस्ता सामग्रीको तथ्य जाँच गरी सच्याउने प्रयास गरिएको प्रतिवेदनमा जनाइएको छ।
प्रतिवेदनले निर्वाचन आयोग, सञ्चारमाध्यम, राजनीतिक दल, उम्मेदवार र नागरिक समाजले मिथ्या सूचना नियन्त्रणका लागि विभिन्न प्रयास गरे पनि ती पर्याप्त प्रभावकारी हुन नसकेको निष्कर्ष निकालेको छ। साथै, सामाजिक सञ्जालमा प्रकाशित केही सामग्री पछि हटाइने भएकाले तथ्य पुष्टि गर्न कठिन हुने अवस्था रहेको पनि अध्ययनले औँल्याएको छ।
सिएमआरले आगामी निर्वाचनलाई लक्षित गर्दै द्रुत प्रतिक्रिया संयन्त्र स्थापना, सामाजिक सञ्जाल प्लेटफर्मलाई कानुनी रूपमा बढी जवाफदेही बनाउने व्यवस्था तथा मिथ्या सूचनालाई द्वन्द्वको प्रारम्भिक संकेत मानेर समयमै आवश्यक कारबाही गर्ने नीति अवलम्बन गर्न सरकारलाई सुझाव दिएको छ।
© 2026 Breaking Nepal. All Rights Reserved | Powered By: InDesign Media Pvt. Ltd.





