रास्वपामा मनोनयनको कसरत तीव्र, नयाँ पदाधिकारी र केन्द्रीय सदस्य टुंग्याउने तयारी

Breaking Nepal

मंगलबार ,असार १६ , २०८३ १८:३८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन सम्पन्न भएपछि सभापति रवि लामिछानेले मनोनित हुने पदाधिकारी, सचिवालय सदस्य र केन्द्रीय सदस्य चयनको तयारी अघि बढाएका छन्। पार्टी विधानले सभापतिलाई १० पदाधिकारी र ५१ केन्द्रीय सदस्य मनोनित गर्ने अधिकार दिएको छ।

पार्टी स्रोतका अनुसार लामिछानेले विभिन्न समूहसँग समायोजनमा आएका नेताहरूलाई समेट्ने उद्देश्यले अनौपचारिक छलफललाई तीव्र बनाएका छन्। प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाहसँग आबद्ध समूह, विवेकशील साझाबाट आएका नेताहरू, थारु, दलित तथा युवा समूहका प्रतिनिधिलाई संगठनमा उचित जिम्मेवारी दिने विषयमा छलफल भइरहेको बताइएको छ।

रास्वपा नेता गणेश पराजुलीका अनुसार एकता महाधिवेशनको भावना कायम राख्दै निर्वाचनमा प्रतिस्पर्धा नगरेका वा समायोजनबाट आएका नेताहरूलाई मनोनित कोटामार्फत समेट्ने तयारी गरिएको हो।

पार्टी सचिवालयले विधानले सम्पूर्ण अधिकार सभापतिलाई दिएको भए पनि सबै पक्षसँग परामर्श गरेर समावेशी र सन्तुलित टोली निर्माण गर्ने तयारी भइरहेको जनाएको छ। मनोनयन प्रक्रिया चरणबद्ध रूपमा अघि बढ्ने र सबै निर्णय एकैपटक नहुने पनि सचिवालयको भनाइ छ।

महाधिवेशनबाट हालसम्म पाँच पदाधिकारी निर्वाचित भइसकेका छन् भने वरिष्ठ नेतामा बालेन्द्र शाह स्वतः रहने व्यवस्था छ। अब बाँकी १० पदाधिकारी सभापति लामिछानेले मनोनित गर्नेछन्। पार्टी प्रवक्ता र कोषाध्यक्षको जिम्मेवारी अझै टुंगिन बाँकी रहेकाले ती पदमा छिट्टै नियुक्ति हुन सक्ने नेताहरूको अपेक्षा छ।

प्रवक्ताका लागि दीपक बोहरा, प्रमोद न्यौपाने, गणेश पराजुलीलगायतका नाम चर्चामा छन् भने कोषाध्यक्षमा लिमा अधिकारीलाई निरन्तरता दिने वा नयाँ जिम्मेवारी दिने विषयमा छलफल भइरहेको बताइएको छ। समायोजनबाट आएका नेतृ रञ्जु दर्शनासहित अन्य केही नेताहरूलाई पनि पदाधिकारीमा समेट्ने सम्भावना रहेको छ।

पार्टीको ३३ सदस्यीय सचिवालयमा पनि सभापतिले उल्लेख्य संख्यामा सदस्य मनोनित गर्ने व्यवस्था छ। सचिवालय गठन गर्दा समावेशिता, क्षमता र विभिन्न समूहको प्रतिनिधित्वलाई प्राथमिकता दिइने नेताहरूले बताएका छन्।

त्यसैगरी, ५१ जना केन्द्रीय सदस्य पनि आवश्यकता अनुसार चरणबद्ध रूपमा मनोनित गरिने तयारी छ। समायोजनबाट आएका नेता, युवा समूह र विषयगत विज्ञलाई समेत केन्द्रीय समितिमा समेट्ने विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ।

महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीको शपथपछि बस्ने पहिलो केन्द्रीय समिति बैठकले मनोनयन प्रक्रियाका विषयमा थप निर्णय लिन सक्ने बताइएको छ।