Breaking Nepal

काठमाडौं / राष्ट्रिय मानवअधिकार आयोगले समाजमा विद्यमान कुसंस्कार र विभेदपूर्ण अभ्यास अझै मानवअधिकार संरक्षणका लागि प्रमुख चुनौतीका रूपमा रहेको जनाएको छ ।
आयोगले बुधबार आयोजना गरेको ‘मानवअधिकार शोध–सम्वाहक : पूर्वीय चिन्तन र मानवअधिकार’ विशेषांकको समीक्षा कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले सामाजिक चेतनामा सुधार आए पनि केही कुसंस्कार पूर्ण रूपमा अन्त्य हुन नसकेको बताए ।
उनका अनुसार अझै पनि जातीय विभेद तथा छुवाछूतका केही घटनाहरू सार्वजनिक भइरहेका छन्, जसले मानवअधिकारको प्रभावकारी कार्यान्वयनमा अवरोध सिर्जना गरिरहेको छ । समाजमा परिवर्तन देखिए पनि विभेदजन्य सोच र व्यवहार पूर्ण रूपमा हट्न नसकेकाले यस्ता अभ्यास अन्त्य गर्न सामूहिक प्रयास आवश्यक रहेको उनले उल्लेख गरे ।
मगरले विगतको तुलनामा जातीय विभेदका परम्परागत अभ्यासहरू उल्लेख्य रूपमा घट्दै गएको भए पनि मानवअधिकारको पूर्ण प्रत्याभूति सुनिश्चित गर्न सामाजिक रूपान्तरणलाई थप तीव्र बनाउनुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा आयोगका सचिव मुरारी खरेलले मानवअधिकारसम्बन्धी अनुसन्धान, अध्ययन तथा कानुनी क्षेत्रका विद्यार्थी, अनुसन्धानकर्ता र सरोकारवालाका लागि विशेषांक उपयोगी सन्दर्भ सामग्री बन्ने विश्वास व्यक्त गरे ।
आयोगका अनुसार विशेषांकमा मानवअधिकारका विविध आयाम समेटिएका ११ वटा अनुसन्धानमूलक लेख समावेश गरिएका छन् । आयोगले यस्ता प्रकाशनमार्फत मानवअधिकारसम्बन्धी अध्ययन, अनुसन्धान र सार्वजनिक बहसलाई थप प्रवर्द्धन गर्ने अपेक्षा गरेको छ ।
© 2026 Breaking Nepal. All Rights Reserved | Powered By: InDesign Media Pvt. Ltd.





