Breaking Nepal

झापा / असिनापानी र हुरीबतासका कारण झापामा यस वर्ष मकै उत्पादनमा उल्लेख्य गिरावट आएको छ। कृषि ज्ञान केन्द्र झापाका अनुसार गत वर्षको तुलनामा मकै उत्पादन ६८ हजार मेट्रिक टनले घटेको छ भने प्राकृतिक विपद्का कारण करिब डेढ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ।
चालु आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा ४६ हजार १२५ हेक्टर क्षेत्रफलमा मकैखेती गरिए पनि कुल उत्पादन दुई लाख ८३ हजार १८७ मेट्रिक टनमा सीमित भएको केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए।
उनका अनुसार गत फागुनको अन्तिम सातादेखि चैतको पहिलो सातासम्म आएको हुरीबताससहितको असिनापानीले विशेषगरी बाह्रदशी, झापा र गौरादह क्षेत्रका किसानलाई ठूलो क्षति पुर्याएको हो। करिब नौ हजार हेक्टर क्षेत्रको मकैबाली नष्ट हुँदा उत्पादनमा प्रत्यक्ष असर परेको उनले बताए।
तथ्यांकअनुसार उत्पादन घटे पनि प्रतिहेक्टर उत्पादकत्व भने स्थिर सुधारको क्रममा रहेको छ। आर्थिक वर्ष २०८०/८१ मा प्रतिहेक्टर ७.८७ मेट्रिक टन उत्पादन भएकामा २०८१/८२ मा ७.८८ मेट्रिक टन पुगेको थियो। चालु वर्षमा पनि प्रतिहेक्टर उत्पादकत्व करिब ७.९ मेट्रिक टन कायम रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ। यसले उन्नत बीउ, आधुनिक खेती प्रणाली र माटोको उत्पादन क्षमता सकारात्मक दिशामा रहेको संकेत गर्छ।
तर प्राकृतिक विपद्को प्रभावका कारण कुल उत्पादन र उत्पादनशील क्षेत्रफलमा भने तीव्र गिरावट देखिएको छ। आर्थिक वर्ष २०८०/८१ मा ४४ हजार ३५ हेक्टर क्षेत्रबाट तीन लाख चार हजार ३५ मेट्रिक टन मकै उत्पादन भएको थियो। त्यसपछिको वर्ष उत्पादन बढेर तीन लाख ५१ हजार ४२६ मेट्रिक टन पुगे पनि चालु वर्षमा उत्पादनशील क्षेत्रफल घटेर ३५ हजार ८९२ हेक्टरमा सीमित भएको छ।
कृषि ज्ञान केन्द्रले क्षतिको विवरण जिल्ला विपद् व्यवस्थापन समितिमार्फत संघीय र प्रदेश सरकारलाई पठाइसकेको जनाएको छ। तर प्रभावित किसानलाई राहत वा क्षतिपूर्ति उपलब्ध गराउन आवश्यक बजेट भने हालसम्म विनियोजन नभएको केन्द्रले जनाएको छ।
कृषि क्षेत्रमा जलवायुजन्य जोखिम बढ्दै जाँदा उत्पादन बढाउन अपनाइएका प्रविधिमात्र पर्याप्त नहुने देखिएको छ। उत्पादनशीलता सुधारिए पनि चरम मौसमका घटनाले कृषि उत्पादनमा ठूलो क्षति पुर्याउने जोखिम बढेकाले विपद् व्यवस्थापन र कृषि बीमा प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ।
© 2026 Breaking Nepal. All Rights Reserved | Powered By: InDesign Media Pvt. Ltd.





