दानसाँघु खोलामा बेलिब्रिज सञ्चालन, पूर्वी–उत्तरी बाजुराको यातायात सहज

Breaking Nepal

मंगलबार ,असार १६ , २०८३ १९:०३

बाजुरा : बाजुराको बुढीनन्दा नगरपालिका–२ स्थित दानसाँघु खोलामा निर्माण गरिएको बेलिब्रिज सञ्चालनमा आएको छ। लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको बेलिब्रिज बडीमालिका नगरपालिका–६ जडाङ्गास्थित बुढीगंगा नदीबाट स्थानान्तरण गरी दानसाँघु खोलामा जडान गरिएको हो।

बुढीनन्दा नगरपालिकाका प्रमुख जनक बोहराका अनुसार बुढीगंगा नदीमा पक्की पुल निर्माण भएपछि थन्किएको बेलिब्रिजलाई मार्तडी–कोल्टी सडकअन्तर्गत पर्ने दानसाँघु खोलामा ल्याएर सञ्चालनमा ल्याइएको हो।

बेलिब्रिज सञ्चालनमा आएपछि वर्षायाममा आवतजावतमा समस्या भोग्दै आएका स्थानीयलाई ठूलो राहत पुगेको छ। यसअघि खोलामा पुल नहुँदा पानीको बहाव बढेसँगै सडक अवरुद्ध हुने र स्थानीयले जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था थियो।

नगर प्रमुख बोहराले दानसाँघु खोलामा पुल बनेसँगै बाजुराको पूर्वी–उत्तरी क्षेत्रका चार स्थानीय तहसहित छिमेकी जिल्ला हुम्ला र मुगुका नागरिकलाई समेत यातायातमा सहजता पुगेको बताए।

सडक डिभिजन कार्यालय अछामका अनुसार बेलिब्रिज स्थानान्तरण तथा जडानका लागि करिब २ करोड रुपैयाँभन्दा बढी खर्च भएको छ। डीएस जनकल्याण जेभी काभ्रेले निर्माणको जिम्मेवारी पाएको उक्त कामका लागि भ्याटबाहेक २ करोड १ लाख १० हजार ८१४ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।

मार्तडी–कोल्टी सडकखण्ड बाजुराको पूर्वी–उत्तरी क्षेत्र जोड्ने प्रमुख मार्ग भए पनि विभिन्न खोलामा पुल नहुँदा लामो समयदेखि यातायात प्रभावित हुँदै आएको थियो। विशेषगरी वर्षायाममा करिब तीन महिनासम्म सडक अवरुद्ध हुने समस्या थियो।

यसअघि सदरमुकाम मार्तडी नजिकको अनाइ खोला र कोल्टी क्षेत्रको दानसाँघु खोलामा पुल निर्माण सम्पन्न भइसकेको छ। तर बडीमालिका क्षेत्रको बाउली खोलामा पुल निर्माण अझै अलपत्र रहेको छ भने रजातोली खोलामा निर्माण कार्य जारी छ।

स्थानीयले बाउली र रजातोली खोलामा पनि समयमै पुल निर्माण सम्पन्न भए बाजुराको महत्वपूर्ण सडकखण्ड बाह्रै महिना सञ्चालन गर्न सहज हुने अपेक्षा गरेका छन्। मार्तडी–कोल्टी सडक नियमित सञ्चालनमा आए पूर्वी–उत्तरी बाजुराको आर्थिक गतिविधि र सेवा पहुँच थप विस्तार हुने विश्वास गरिएको छ।