पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको आदर्श लोकतन्त्र र प्राविधिक शिक्षाको प्रेरणा 

Breaking Nepal

मंगलबार ,असार १६ , २०८३ १९:१४

विराटनगर / पूर्वप्रधानमन्त्री तथा नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता स्वर्गीय मनमोहन अधिकारीको १०६औँ जन्मजयन्ती मनमोहन प्राविधिक विश्वविद्यालयले विविध कार्यक्रम गरी मनाएको छ। विश्वविद्यालयले अधिकारीको लोकतान्त्रिक आन्दोलन, शिक्षा र सामाजिक रूपान्तरणमा पुर्‍याएको योगदानको स्मरण गर्दै उनको आदर्श आज पनि मुलुकका लागि मार्गदर्शक रहेको उल्लेख गरेको छ।

मोरङको बुढीगंगा गाउँपालिका–४, हात्तीमुढास्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा समाजसेवी, जनप्रतिनिधि, राजनीतिकर्मी, विश्वविद्यालयका पदाधिकारी, कर्मचारी तथा विद्यार्थीले अधिकारीको प्रतिमामा माल्यार्पण गर्दै श्रद्धाञ्जलि अर्पण गरेका थिए।

कार्यक्रममा विश्वविद्यालय संरक्षण समिति सदस्य तथा पूर्वसहकुलपति जीवन घिमिरेले लोकतन्त्र स्थापना, गुणस्तरीय शिक्षा र समृद्ध समाज निर्माणमा मनमोहन अधिकारीको योगदान ऐतिहासिक रहेको बताए। उनका अनुसार अधिकारीको राजनीतिक दूरदृष्टि र त्यागकै जगमा मनमोहन शिक्षालय हुँदै प्रदेश सरकारको कानुनी व्यवस्थामार्फत देशकै पहिलो प्रदेशस्तरीय प्राविधिक विश्वविद्यालय स्थापना सम्भव भएको हो।

कोशी प्रदेशका सांसद लिलाबल्लभ अधिकारीले मनमोहन अधिकारी कुनै एक राजनीतिक दलका नेता मात्र नभई सम्पूर्ण नेपालीका लागि अनुशासन, सादगी र नैतिक राजनीतिको उदाहरण भएको बताए। उनले अधिकारीको जीवनशैली र आदर्शलाई सबैले अनुकरण गर्नुपर्नेमा जोड दिए।

पूर्वाञ्चल विश्वविद्यालयका सिनेट सदस्य विनोद ढकालले प्रजातान्त्रिक आन्दोलनमा मनमोहन अधिकारीको नेतृत्व र योगदानकै आधारमा मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको उल्लेख गरे।

राजनीतिज्ञ महेश रेग्मीले मनमोहन अधिकारी त्याग, इमानदारी र सामाजिक न्यायप्रतिको प्रतिबद्धताका कारण नेपाली राजनीतिमा विशिष्ट पहिचान बनाउन सफल नेता भएको बताए। उनले शिक्षा, सामाजिक रूपान्तरण र जनमुखी शासन व्यवस्थाको पक्षमा अधिकारीले खेलेको भूमिका स्मरणीय रहेको धारणा राखे।

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति डा। सुवासश्री पोखरेल, रजिष्ट्रार डा। किशोर अधिकारी, डिन डा। रेखा श्रेष्ठ तथा संरक्षण समिति सदस्यहरू सत्यनारायण चौधरी, राजन केसी र मुकेश उपाध्यायलगायतको सहभागिता रहेको थियो।

यसै अवसरमा विश्वविद्यालयअन्तर्गतको मनमोहन पोलिटेक्निकका उत्कृष्ट विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।

वृक्षारोपणलाई दिगो बनाउन ‘गोद लिने’ अभियान

जन्मजयन्तीकै अवसरमा मनमोहन प्राविधिक विश्वविद्यालयले वृक्षारोपणलाई दिगो र परिणाममुखी बनाउन नयाँ अभ्यास सुरु गरेको छ। विश्वविद्यालयले रोपिएका बिरुवाको संरक्षण सुनिश्चित गर्न अतिथि, पदाधिकारी तथा कर्मचारीलाई आफूले रोपेको बिरुवा व्यक्तिगत रूपमा ‘गोद’ लिन लगाउँदै सामूहिक वृक्षारोपण कार्यक्रम सञ्चालन गरेको हो।

विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङ संकायको आयोजनामा सम्पन्न कार्यक्रममा करिब २०० वटा विभिन्न प्रजातिका बिरुवा रोपिएका थिए। सहभागीहरूले आफूले रोजेको बिरुवाको संरक्षण तथा नियमित हेरचाह गर्ने जिम्मेवारीसमेत लिएका छन्।

डिन कार्यालयका प्रशासन प्रमुख महेश राईका अनुसार गोद लिइएका बिरुवाको नियमित अनुगमन गर्ने व्यवस्था मिलाइएको छ। बिरुवा हुर्किएपछि सम्बन्धित व्यक्तिको नामसमेत अभिलेखका रूपमा राखिनेछ।

विश्वविद्यालयका अनुसार हरेक वर्ष वृक्षारोपण हुने भए पनि रोपिएका बिरुवाको संरक्षणमा अपेक्षित ध्यान नपुग्ने अवस्थालाई मध्यनजर गर्दै अपनत्व र जिम्मेवारीबोध विकास गर्ने उद्देश्यले ‘गोद लिने’ अवधारणा कार्यान्वयनमा ल्याइएको हो।