क्रिप्टो कारोबारबाट ट्रम्प परिवारको एक अर्ब डलर आम्दानी, सम्पत्ति ६.५ अर्ब डलर नाघ्यो

Breaking Nepal

बुधबार ,असार १७ , २०८३ १८:५०

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको परिवारसँग सम्बन्धित क्रिप्टोकरेन्सी कारोबारबाट सन् २०२५ मा करिब एक अर्ब अमेरिकी डलर आम्दानी भएको विवरण सार्वजनिक भएको छ। अमेरिकी सरकारी नैतिकता कार्यालयले सार्वजनिक गरेको आर्थिक खुलासाले ट्रम्प परिवारको क्रिप्टो व्यवसायबाट भएको आम्दानी र बढ्दो सम्पत्तिलाई उजागर गरेको हो।

९२७ पृष्ठको आर्थिक विवरणअनुसार ट्रम्पले विशेषगरी वर्ल्ड लिबर्टी फाइनान्सियल र ट्रम्प ब्रान्डसँग सम्बन्धित क्रिप्टोकरेन्सी परियोजनाबाट ठूलो आम्दानी गरेका छन्। फोर्ब्सका अनुसार सन् २०२४ देखि २०२६ बीच ट्रम्पको व्यक्तिगत सम्पत्ति करिब २ अर्ब ३० करोड डलरबाट बढेर ६ अर्ब ५० करोड डलर पुगेको छ।

खुलासामा वर्ल्ड लिबर्टी फाइनान्सियलसँगको सम्बन्धबाट ट्रम्पले करिब ५ करोड ५० लाख डलर आम्दानी गरेको उल्लेख छ। त्यस्तै, जनवरी २०२५ मा सार्वजनिक गरिएको ट्रम्प क्रिप्टोकरेन्सी परियोजनासँग सम्बन्धित इजाजतपत्र सम्झौताबाट मात्रै उनले करिब ६३ करोड ५० लाख डलर रोयल्टी प्राप्त गरेका छन्।

उक्त कम्पनी ट्रम्पका छोराहरू र मध्यपूर्वका विशेष दूत स्टिभ विटकफका छोराले संयुक्त रूपमा सन् २०२४ को सेप्टेम्बरमा स्थापना गरेका थिए। कम्पनीले डब्लुएलएफआई (WLFI) टोकन बिक्रीमार्फत ५५ करोड डलर उठाएको थियो। यद्यपि कारोबारयोग्य बनेपछि टोकनको मूल्य ४६ सेन्टबाट घटेर करिब ६ सेन्टमा झरेको छ।

विवरणअनुसार ट्रम्प र उनका तीन छोराले डीटी मार्क्स डेफीमार्फत थप २२ अर्ब ५० करोड डब्लुएलएफआई टोकन प्राप्त गरेका छन्, जसको हालको अनुमानित बजार मूल्य करिब १ अर्ब ३० करोड डलर रहेको छ। कम्पनीले अप्रिल २०२५ मा अमेरिकी डलरसँग आबद्ध स्टेबलकोइन पनि सार्वजनिक गरेको थियो।

क्रिप्टोकरेन्सी क्षेत्रमा ट्रम्प परिवारको बढ्दो संलग्नताले स्वार्थको द्वन्द्वबारे प्रश्नसमेत उठाएको छ। आलोचकहरूले राष्ट्रपति रहँदै आफ्नै लगानी रहेको क्षेत्रलाई अनुकूल हुने नीतिगत निर्णय गर्न खोजेको आरोप लगाउँदै आएका छन्। तर ह्वाइट हाउसले यी आरोप अस्वीकार गर्दै राष्ट्रपति वा उनको परिवार कुनै पनि स्वार्थको द्वन्द्वमा संलग्न नरहेको जनाएको छ। ह्वाइट हाउसका अनुसार प्रशासनका सबै निर्णय अमेरिकी जनताको हितलाई केन्द्रमा राखेर गरिएको हो।

अमेरिकी कानूनअनुसार राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो सम्पत्ति तथा आम्दानी सार्वजनिक गर्नुपर्ने व्यवस्था छ। यसपटकको खुलासामा प्रथम महिला मेलानिया ट्रम्पले अमेजनका लागि निर्माण गरिएको वृत्तचित्रबाट एक करोड डलरभन्दा बढी तथा आफ्ना संस्मरण मेलानियाबाट पाँच लाख डलरभन्दा बढी आम्दानी गरेको उल्लेख गरिएको छ।

त्यस्तै, ट्रम्पले विभिन्न क्रिप्टो कम्पनीमा गरेको लगानी, ट्रम्प ब्रान्डका व्यापारिक सामग्री तथा गायक ली ग्रीनवुडसँगको सहकार्यमा बिक्री गरिएको बाइबलबाट पनि उल्लेखनीय आम्दानी गरेको विवरणमा उल्लेख छ।

आर्थिक खुलासामा उपराष्ट्रपति जेडी भान्सले पनि सन् २०१६ मा प्रकाशित आफ्नो संस्मरण हिलबिली एलेजीबाट १० लाखदेखि ५० लाख डलरसम्म रोयल्टी प्राप्त गरेको जानकारी दिएका छन्।