योजनाको गुणस्तरमा महानगरको निगरानी, प्रमुख प्रशासकीय अधिकृत शर्माद्वारा स्थलगत अनुगमन

Breaking Nepal

बुधबार ,असार १७ , २०८३ २०:१०

विराटनगर / विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षका विकास आयोजनाको कार्यान्वयनलाई तीव्रता दिँदै गुणस्तर सुनिश्चित गर्न स्थलगत अनुगमनलाई प्रभावकारी बनाएको छ । सोही क्रममा प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले बुधबार प्राविधिक टोलीसहित महानगरका विभिन्न वडामा सञ्चालन भइरहेका योजनाको अनुगमन गरेका छन् ।

अनुगमनका क्रममा सडक स्तरोन्नति, नाला निर्माण, ढल व्यवस्थापन तथा अन्य पूर्वाधार आयोजनाको प्रगति, निर्माणको गुणस्तर, प्राविधिक मापदण्डको पालना र तोकिएको समयसीमाअनुसार काम भइरहेको अवस्थाबारे स्थलगत मूल्याङ्कन गरिएको महानगरले जनाएको छ ।

महानगरका १९ वटै वडामा सडक, नाला तथा अन्य पूर्वाधार निर्माणका योजना एकसाथ अघि बढाइएकाले नियमित अनुगमनमार्फत निर्माणको प्रभावकारिता बढाउने रणनीति अपनाइएको छ । निर्माण व्यवसायी तथा उपभोक्ता समितिलाई गुणस्तरीय काम गर्न र निर्धारित समयमै आयोजना सम्पन्न गर्न समेत निर्देशन दिइएको छ ।

अनुगमनपछि प्रमुख प्रशासकीय अधिकृत शर्माले विकास योजनाको सफलता बजेट खर्चमा मात्र सीमित नहुने उल्लेख गर्दै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गुणस्तरीय पूर्वाधार निर्माण महानगरको प्राथमिकता रहेको बताए ।

‘महानगरले सञ्चालन गरेका सबै योजना निर्धारित मापदण्डअनुसार गुणस्तरीय रूपमा सम्पन्न हुनुपर्छ,’ उनले भने, ‘निर्माणमा कुनै प्रकारको लापरबाही वा सम्झौता स्वीकार्य हुँदैन । समयमै काम सम्पन्न गर्दै नागरिकले दीर्घकालसम्म उपयोग गर्न सक्ने पूर्वाधार निर्माणमा हाम्रो जोड छ । त्यसका लागि नियमित अनुगमन र आवश्यक सहजीकरणलाई निरन्तरता दिइन्छ ।’

महानगरले विकास आयोजनाको प्रभावकारिता बढाउन प्राविधिक परीक्षण, नियमित सुपरिवेक्षण र स्थलगत अनुगमनलाई थप व्यवस्थित बनाउने तयारी गरेको जनाएको छ ।