हवाई इन्धन सस्तिएसँगै घट्यो हवाई भाडा, विराटनगर–काठमाडौं रुटमा ५ हजार ५ सय कायम

Breaking Nepal

बिहीबार ,असार १८ , २०८३ ०७:११

विराटनगर / हवाई इन्धनको मूल्यमा भएको उल्लेखनीय गिरावटसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आन्तरिक उडानको इन्धन सरचार्ज (फ्यूल सरचार्ज) घटाएको छ ।
नयाँ दरअनुसार विराटनगर–काठमाडौं उडानमा लागू हुने इन्धन सरचार्ज साविकको तुलनामा ९६० रुपैयाँले घटेर पाँच हजार ५०० रुपैयाँ कायम भएको छ । कोशी प्रदेशको प्रमुख हवाई मार्गका रूपमा रहेको विराटनगर–काठमाडौं रुटमा दैनिक ठूलो संख्यामा यात्रु आवतजावत गर्ने भएकाले यस निर्णयबाट व्यवसायिक, शैक्षिक, स्वास्थ्य तथा सरकारी कामका लागि राजधानी आउने–जाने यात्रुले प्रत्यक्ष राहत पाउने अपेक्षा गरिएको छ ।

कोशी प्रदेशका अन्य विमानस्थलबाट काठमाडौं जाने यात्रुलाई पनि इन्धन सरचार्जमा राहत मिलेको छ । पर्वतीय तथा दुर्गम गन्तव्यका रूपमा रहेको तुम्लिङटार, भोजपुर, खाँदबारी, फाप्लु, रुम्जाटार तथा अन्य पूर्वी पहाडी क्षेत्रका उडानमा पनि इन्धनको मूल्य घटेको अनुपातमा सरचार्ज समायोजन हुने भएकाले ती क्षेत्रका यात्रुको हवाई यात्रा तुलनात्मक रूपमा सस्तो हुने भएको छ ।

प्राधिकरणका अनुसार हवाई इन्धनको मूल्य १४.८७ प्रतिशतले घटेकाले इन्धन सरचार्ज पनि सोही अनुपातमा परिमार्जन गरिएको हो । यसबारे सबै वायुसेवा कम्पनीलाई परिपत्र गरिसकिएको प्राधिकरणले जनाएको छ ।

नेपाल आयल निगमले मंगलबार हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँ घटाएर २६९ रुपैयाँबाट २२९ रुपैयाँ कायम गरेपछि प्राधिकरणले सोही अनुपातमा इन्धन सरचार्ज पुनःसमायोजन गरेको हो । नयाँ व्यवस्था आजदेखि लागू भएको प्राधिकरणले जनाएको छ ।

अन्य प्रमुख रुटमा पनि इन्धन सरचार्ज घटेको छ। काठमाडौं–पोखरा उडानमा सरचार्ज ६३५ रुपैयाँले घटेर तीन हजार ६३५ रुपैयाँ, काठमाडौं–भैरहवामा ८२५ रुपैयाँले घटेर चार हजार ७१५ रुपैयाँ, काठमाडौं–नेपालगन्जमा एक हजार ३०५ रुपैयाँले घटेर सात हजार ४६५ रुपैयाँ तथा काठमाडौं–धनगढीमा एक हजार ७६५ रुपैयाँले घटेर १० हजार १२० रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, छोटो दूरीका काठमाडौं–जनकपुर र काठमाडौं–सिमरा उडानमा क्रमशः ५१५ रुपैयाँ र ३६० रुपैयाँले सरचार्ज घटाएर दुई हजार ९४५ रुपैयाँ र दुई हजार ६० रुपैयाँ निर्धारण गरिएको छ ।

पर्यटकीय तथा दुर्गम गन्तव्यका उडानमा पनि राहत दिइएको छ । काठमाडौं–लुक्ला उडानको सरचार्ज ५४५ रुपैयाँले घटेर तीन हजार १३० रुपैयाँ कायम भएको छ भने रामेछाप–लुक्ला उडानमा ३०० रुपैयाँ कटौती गरी एक हजार ७४० रुपैयाँ तोकिएको छ । पोखरा–जोमसोममा सरचार्ज ३२० रुपैयाँले घटेर एक हजार ८२५ रुपैयाँ पुगेको छ ।