खोटाङमा तरुण दलमा व्यापक असन्तुष्टि, जिल्ला अध्यक्षसहित ४० युवा नेताको सामूहिक राजीनामा

Breaking Nepal

बिहीबार ,असार १८ , २०८३ ०७:२०

खोटाङ / नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल खोटाङमा नेतृत्व चयन र सिफारिस प्रक्रियालाई लिएर विवाद चर्किएको छ। जिल्ला खेलकुद विकास समितिको अध्यक्ष सिफारिस तथा तरुण दलको केन्द्रीय प्रतिनिधि छनोटमा असन्तुष्टि जनाउँदै जिल्ला अध्यक्ष काजीमान राईसहित ४० जना युवा नेताले सामूहिक रूपमा पदीय जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन्।

असार १७ गते कांग्रेस पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत जिल्ला अध्यक्ष राईले आफूहरू निर्णय प्रक्रियामा पारदर्शिता र संस्थागत विधि पालना नभएको निष्कर्षमा पुगेकाले राजीनामा दिएको जानकारी दिए। उनका अनुसार उपाध्यक्ष सनम राई (जोजो), सचिव कविन राई, कोषाध्यक्ष भरत राईसहित जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले सामूहिक रूपमा जिम्मेवारी त्यागेका हुन्।

राजीनामा दिनेमा जिल्ला कार्यसमितिका सदस्यहरू अमित राई, सन्तोष राई, विकास श्रेष्ठ (प्रकाश), सुरेश गुरुङ (किमजोङ), विरेन गुरुङ, समिक्षा कार्की, सविन राई, प्रविण केसी, देवकुमारी मुग्राती, शुभकाजी राई, विप्लव उदास, पार्वती थापा, बुद्धिबोल राई, सुमन गुरुङ, अरुण श्रेष्ठलगायत रहेका छन्।

त्यसैगरी प्रदेश तथा स्थानीय तहका विभिन्न तहका तरुण दलका पदाधिकारीले पनि राजीनामामा साथ दिएका छन्। प्रदेश (ख) अध्यक्ष सुरेश राई, प्रदेश (ख) उपाध्यक्ष दिनेश वान्तवा राई, प्रदेश (क) सहसचिव सन्तोष दाहाल, दिक्तेल रुपाकोट मझुवागढी नगर अध्यक्ष दिवासन राई, सहसचिव सञ्जिव श्रेष्ठ, केपिलासगढी गाउँपालिका अध्यक्ष अनुप राई (घाइतेबाघ), ऐसेलुखर्क गाउँपालिका अध्यक्ष चन्द्र राई, हलेसी तुवाचुङ नगर सचिव एगिन्द्र राई, रावाबेँसी गाउँपालिका अध्यक्ष विशाल राई, साकेला गाउँपालिका अध्यक्ष अनिश गुरुङ, खोटेहाङ गाउँपालिका अध्यक्ष हिमाल राई, जन्तेढुंगा गाउँपालिका अध्यक्ष नेपालतारा राई तथा दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष विकेन राई र सचिव किरण वालेम राईले समेत पद त्यागेको घोषणा गरेका छन्।

राजीनामा घोषणा गर्ने पक्षले जिल्ला खेलकुद विकास समितिको अध्यक्षका लागि गरिएको सिफारिस तथा केन्द्रीय प्रतिनिधि चयनको निर्णय सच्याइएपछि मात्रै संगठनात्मक जिम्मेवारीमा फर्किने संकेत दिएको छ। उनीहरूका अनुसार निर्णय प्रक्रिया एकपक्षीय र संगठनभित्रको सहमतिविपरीत भएको दाबी गरिएको छ।

विवादको केन्द्रमा जिल्ला खेलकुद विकास समितिको अध्यक्षका लागि मिलन कसजु तथा केन्द्रीय प्रतिनिधिका रूपमा सञ्जयकुमार राई र पवन श्रेष्ठको सिफारिस रहेको छ। असन्तुष्ट पक्षले भने खेलकुद विकास समितिको अध्यक्षमा सनम राई (जोजो) लाई सिफारिस गरिनुपर्ने माग अघि सारेको छ।

सामूहिक राजीनामासँगै तरुण दल खोटाङभित्र देखिएको आन्तरिक विवाद थप गहिरिने संकेत देखिएको छ। संगठनभित्र उत्पन्न असन्तुष्टिको व्यवस्थापन र निर्णय पुनरावलोकन हुने वा नहुने विषयले अब जिल्लाको कांग्रेस राजनीतिमा थप चासोको विषय बनेको छ।