Breaking Nepal

काठमाडौं / त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. भोला थापा नियुक्त भएका छन् । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपतिले उनलाई उपकुलपतिको जिम्मेवारी प्रदान गरेका हुन् ।
डा. थापा यसअघि काठमाडौं विश्वविद्यालयका उपकुलपतिका रूपमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका अनुभवी शैक्षिक प्रशासक हुन् । इन्जिनियरिङ शिक्षा, जलविद्युत् प्रविधि तथा ऊर्जा अनुसन्धानका क्षेत्रमा उनको लामो अनुभव र योगदान रहेको छ ।
इन्जिनियरिङ विषयमा स्नातक तह पूरा गरेपछि उनले सरकारी सेवाबाट व्यावसायिक यात्रा सुरु गरेका थिए। त्यसपछि काठमाडौं विश्वविद्यालयमा उपप्राध्यापकका रूपमा प्रवेश गर्दै शैक्षिक तथा प्रशासनिक नेतृत्वको विभिन्न जिम्मेवारी सम्हाले । उनले प्राध्यापक, सहायक डिन, कार्यकारी डिन र रजिस्ट्रारका रूपमा कार्य गरिसकेका छन्। विसं २०७७ माघमा उनी काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएका थिए ।
मेकानिकल इन्जिनियरिङमा स्नातक गरेका डा. थापाले स्नातकोत्तर तहमा टर्बाइन रनरसम्बन्धी अध्ययन गरेका छन् भने विद्यावारिधि अनुसन्धान हाइड्रोलिक मेसिनमा बालुवाका कणका कारण हुने घिसावट (क्षरण) विषयमा केन्द्रित रहेको छ ।
उनले अमृत साइन्स क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका हुन् । विद्यालय तहको शिक्षा भने कीर्तिपुरस्थित ल्याबोरेटरी विद्यालयबाट पूरा गरेका थिए ।
उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, अनुसन्धानमुखी विश्वविद्यालयको विकास तथा प्राविधिक शिक्षाको विस्तारमा सक्रिय भूमिका निर्वाह गर्दै आएका डा. थापाको नियुक्तिसँगै त्रिभुवन विश्वविद्यालयमा शैक्षिक सुधार, सुशासन र अनुसन्धान प्रवर्द्धनले थप गति लिने अपेक्षा गरिएको छ ।