कोशीमै पहिलोपटक दूरबिन प्रविधिबाट मेरुदण्डको शल्यक्रिया, बिरामी भोलिपल्टै हिँड्न सक्षम

Breaking Nepal

शुक्रबार ,असार १९ , २०८३ २०:१७

झापा / कोशी प्रदेशमा पहिलोपटक दूरबिन (एन्डोस्कोपिक) प्रविधिबाट मेरुदण्डको सफल शल्यक्रिया गरिएको छ । झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालले न्यून चिरफारमा आधारित आधुनिक प्रविधिबाट मेरुदण्डको नसामा आएको चाप हटाउने शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ ।

शल्यक्रियाबाट झापाको शिवसताक्षी नगरपालिका–८, झिलझिलेका १८ वर्षीय युकेश लिम्बूले नयाँ जीवन पाएका छन् । केही समयदेखि देब्रे खुट्टा चल्न छाडेपछि दैनिक हिँडडुलसमेत कठिन बनेको थियो । मेरुदण्डको नसामा परेको चापका कारण समस्या जटिल बन्दै गएपछि विभिन्न अस्पतालमा उपचारको प्रयास भए पनि स्पष्ट उपचार विकल्प प्राप्त हुन सकेको थिएन ।

पछि बिर्तासिटी अस्पतालमा अर्थोपेडिक तथा मेरुदण्ड शल्यचिकित्सक डा. रुपेशजंग बेलवासेको परामर्शमा दूरबिन प्रविधिबाट शल्यक्रिया गर्ने निर्णय गरिएको थियो । असार १८ गते सम्पन्न शल्यक्रियापछि लिम्बूको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको अस्पतालले जनाएको छ। अहिले उनी सामान्य हिँडडुल गर्न सक्ने अवस्थामा पुगेका छन् भने स्वास्थ्य अवस्था स्थिर रहेमा छिट्टै अस्पतालबाट डिस्चार्ज गरिने तयारी छ ।

शल्यक्रियाको नेतृत्व ट्रमा शल्यचिकित्सा, जोर्नी प्रत्यारोपण तथा खेलकुदजन्य चोट उपचार विभाग प्रमुख डा। बेलवासेले गरेका थिए । उनका अनुसार एन्डोस्कोपिक प्रविधिमा शरीरमा ठूलो चिरा लगाउनुपर्दैन। दुईवटा साना प्वालमार्फत विशेष दूरबिन र अत्याधुनिक उपकरण प्रयोग गरेर च्यापिएको नसासम्म पुगेर उपचार गरिन्छ ।

उनका अनुसार यस विधिमा अधिकांश अवस्थामा मेरुदण्डमा रड वा अन्य धातुजन्य संरचना राख्नुपर्ने आवश्यकता पर्दैन । त्यसैले रक्तस्राव कम हुने, संक्रमणको जोखिम न्यून रहने, पीडा कम हुने र बिरामी छिट्टै सामान्य जीवनमा फर्किन सक्ने सुविधा मिल्छ ।

‘परम्परागत खुला शल्यक्रियापछि बिरामीले कम्तीमा एक महिना आराम गर्नुपर्ने अवस्था आउँछ,’ डा. बेलवासेले भने, ‘तर एन्डोस्कोपिक विधिबाट गरिएको शल्यक्रियापछि बिरामी भोलिपल्टदेखि नै हिँडडुल गर्न सक्छ। घाउ सानो हुने भएकाले निको हुने समय पनि छोटो हुन्छ ।’

विश्वभर पछिल्ला वर्षहरूमा न्यून चिरफारमा आधारित मेरुदण्ड शल्यक्रियाको प्रयोग तीव्र रूपमा बढिरहेको छ । कम अस्पताल बसाइ, कम खर्च, छिटो पुनःस्थापना र कम जटिलताका कारण यो प्रविधि लोकप्रिय बन्दै गएको चिकित्सकहरूको भनाइ छ।

नेपालमा भने यस्तो सेवा सीमित अस्पताल र चिकित्सकमा मात्र उपलब्ध छ । प्रदेशस्तरमै यो सेवा विस्तार हुन थालेपछि उपचारका लागि काठमाडौं वा भारत जानुपर्ने बाध्यता घट्ने अपेक्षा गरिएको छ ।

अस्पताल प्रशासनका अनुसार एन्डोस्कोपिक मेरुदण्ड शल्यक्रियामा सानो चिरा, सामान्य टाँका र छोटो उपचार अवधिका कारण बिरामीको आर्थिक तथा सामाजिक भारसमेत घट्छ ।

उपचारपछि लिम्बूले स्वास्थ्यमा उल्लेखनीय सुधार आएको बताउँदै उपचारमा संलग्न चिकित्सक र अस्पतालप्रति धन्यवाद व्यक्त गरेका छन् । सामान्य जीवनमा फर्किने विश्वास बढेको उनको भनाइ छ ।

आधुनिक हाडजोर्नी उपचारमा सक्रिय डा। रुपेशजंग बेलवासे

पूर्वी नेपालमा आधुनिक हाडजोर्नी उपचार प्रविधि विस्तार गर्ने चिकित्सकमध्ये डा. रुपेशजंग बेलवासे अग्रपङ्क्तिमा रहेका छन् । उनी हाल बिर्तासिटी अस्पतालको ट्रमा शल्यचिकित्सा, जोर्नी प्रत्यारोपण तथा खेलकुदजन्य चोट उपचार विभागको नेतृत्व गरिरहेका छन् ।

ललितपुरको सैँबु निवासी बेलवासेले नेपाल मेडिकल कलेजबाट एमबीबीएस अध्ययन पूरा गरेका हुन् । त्यसपछि भारतको बनारस हिन्दु विश्वविद्यालयबाट अर्थोपेडिक्स तथा ट्रमाटोलोजीमा स्नातकोत्तर गरेका उनले अस्पताल व्यवस्थापनमा समेत स्नातकोत्तर उपाधि हासिल गरेका छन् ।

उच्च शिक्षापछि भारतको इन्द्रप्रस्थ अपोलो अस्पतालमा जोर्नी प्रत्यारोपण तथा जोर्नीभित्र दूरबिनमार्फत गरिने शल्यक्रियासम्बन्धी विशेष तालिम लिए । त्यसपछि अष्ट्रियाको मेडिकल विश्वविद्यालय अफ भियनामा घुँडा तथा हिप प्रत्यारोपण, काँध र घुँडाको दूरबिनमार्फत गरिने शल्यक्रियामा थप विशेषज्ञता हासिल गरे। सन् २०२३ मा हंगेरीको सेगेड विश्वविद्यालयबाट एओ ट्रमा फेलोसिपसमेत पूरा गरेका थिए ।

हालै चीनको पेकिङ विश्वविद्यालयमा छात्रवृत्तिमार्फत मेरुदण्डको एन्डोस्कोपिक शल्यक्रियासम्बन्धी विशेष तालिम पूरा गरेपछि उनले उक्त प्रविधि नेपालमा प्रयोगमा ल्याएका हुन् ।

उनको विशेषज्ञता हिप तथा घुँडा प्रत्यारोपण, खेलकुदजन्य चोट उपचार, न्यून चिरफार शल्यक्रिया, रोबोटिक सहयोगमा गरिने जोर्नी प्रत्यारोपण तथा मेरुदण्ड उपचारसम्म फैलिएको छ ।

चिकित्सा सेवासँगै अनुसन्धानमा पनि सक्रिय बेलवासेका हाडजोर्नी, फ्र्याक्चर व्यवस्थापन, पोषण, हड्डी स्वास्थ्य तथा अस्पतालजन्य सङ्क्रमणलगायत विषयमा दुई दर्जनभन्दा बढी अनुसन्धान लेख अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन् । दक्षिण अफ्रिका, अष्ट्रिया, हंगेरी, भारत, चीन र नेपालका विभिन्न वैज्ञानिक सम्मेलनमा उनले अनुसन्धान प्रस्तुत गरिसकेका छन् । यस वर्ष दक्षिण कोरिया र अमेरिकामा हुने वैज्ञानिक सम्मेलनमा समेत अनुसन्धान प्रस्तुत गर्ने तयारीमा छन् ।

व्यावसायिक रूपमा उनी नेपाल अर्थोपेडिक एसोसिएसनको मेची च्याप्टरका महासचिव हुन् । साथै विभिन्न अन्तर्राष्ट्रिय अर्थोपेडिक संस्थाका सदस्यका रूपमा पनि सक्रिय छन् ।

पूर्वी नेपालमै अत्याधुनिक हाडजोर्नी तथा मेरुदण्ड उपचार सेवा विस्तार गर्ने उद्देश्यका साथ उनले न्यून चिरफार प्रविधि, खेलकुदजन्य चोट उपचार र जोर्नी प्रत्यारोपण सेवालाई स्थानीय स्तरमै सहज र प्रभावकारी बनाउने प्रयास गरिरहेका छन् ।