Breaking Nepal

विराटनगर / सीमा नाकाबाट हुने चोरी–तस्करी तथा राजस्व चुहावटबारे बढ्दो जनगुनासोपछि गृहमन्त्री सुधन गुरुङ पूर्वसूचना नदिई कोशी प्रदेशको आकस्मिक अनुगमनमा निस्किएका छन् ।
सुरक्षा स्रोतका अनुसार गृहमन्त्री शुक्रबार साँझ कोशी प्रदेश आइपुगेका हुन् । उनले सुनसरी र मोरङका भारतसँग जोडिएका प्रमुख सीमा नाकाको स्थलगत निरीक्षण गर्दै तस्करी नियन्त्रण, सुरक्षा व्यवस्थापन तथा राजस्व चुहावटको अवस्थाबारे प्रत्यक्ष जानकारी लिने कार्यक्रम रहेको छ ।
गृहमन्त्रीको भ्रमण पूर्वनिर्धारित भए पनि सुरक्षा निकायलाई विस्तृत कार्यतालिका उपलब्ध नगराइएकाले उनको वास्तविक अवस्थिति सार्वजनिक गरिएको छैन । स्रोतका अनुसार उनी सुनसरी क्षेत्रमा स्थलगत अनुगमनपछि मोरङ प्रवेश गरेको बताइएको छ ।
गृहमन्त्रीको आकस्मिक भ्रमणसँगै मोरङ र सुनसरीका सुरक्षा निकाय उच्च सतर्कतामा रहेका छन् । सीमा क्षेत्रमा हुने अवैध ओसारपसार, भन्सार छलि र राजस्व चुहावट नियन्त्रणमा सरकारी संयन्त्रको प्रभावकारिताबारे प्रत्यक्ष मूल्याङ्कन गर्ने उद्देश्यले अनुगमन गरिएको सुरक्षा अधिकारीहरूको भनाइ छ ।
केही दिनअघि गृहमन्त्रीले मधेस प्रदेशको पर्सा जिल्लास्थित सीमा क्षेत्रमा पनि आकस्मिक निरीक्षण गर्दै स्थानीय बासिन्दासँग चोरी–तस्करीका गतिविधिबारे जानकारी लिएका थिए । त्यसक्रममा सीमा सुरक्षा र तस्करी नियन्त्रणमा देखिएका चुनौतीबारे उनले प्रत्यक्ष जानकारी संकलन गरेका थिए ।
यसैबीच, मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले गृहमन्त्रीको भ्रमणबारे औपचारिक जानकारी प्राप्त नभएको बताएका छन् । उनले गृहमन्त्री आउने सम्भावना रहेको जानकारी पाए पनि हालसम्म जिल्लामा प्रवेश गरेको पुष्टि नभएको बताए ।
गृहमन्त्रीको अप्रत्याशित भ्रमणले सीमा क्षेत्रमा खटिएका सुरक्षा निकाय र प्रशासनिक संयन्त्रलाई थप सक्रिय बनाएको छ । सरकारले सीमा नाकाबाट हुने अवैध कारोबार नियन्त्रण र राजस्व चुहावट रोक्न पछिल्ला दिनमा निगरानी तथा अनुगमनलाई तीव्र बनाउँदै आएको छ ।
गृहमन्त्री आउने हल्लाले सीमा क्षेत्रमा प्रहरीको उपस्थिति बढाइएको छ । ब्रेकिङ नेपाल न्यूजका विशेष संवाददाता दीपेन्द्र साहका अनुसार अहिले सीमा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिति बाक्लो छ । तर गृहमन्त्री गुरुङ कहाँ छन् र आउने नआउने सुरक्षामा कटिएका प्रहरी अधिकृतहरुलाई समेत जानकारी छैन ।
यता, नागरिक समाजका अगुवा र पूर्व प्रशासकहरुले भने गृहमन्त्रीको आकस्मिक अनुगमनलाई ‘चर्चा कमाउने मेलो’ भनेर संज्ञा दिएका छन् ।
‘प्रधानमन्त्री र मन्त्रीहरुले मातहतका संयन्त्र प्रभावकारी रुपमा परिचालन गर्ने हो,’ नागरिक समाजका एक अगुवाले भने, ‘एसपी र सिडिओले गर्ने काम मन्त्रीले गर्दै हिंड्ने होइन । एक दिन गृहमन्त्रीले अनुगमन गरेर हुन्छ ? बरु आफ्नो संयन्त्रलाई कडाइका साथ इमान्दारितापूर्वक कार्य गर्नेतर्फ प्रेरित गर्ने हो ।’
नेपाल प्रहरीका एक पूर्वअधिकृतले पनि पछिल्लो समय गृहमन्त्रीले गरिरहेको कार्यलाई ‘स्टन्टबाजी’ भनेको छन् ।