Breaking Nepal

काठमाडौं। इङ्गल्यान्डका पूर्वकप्तान एलन शियररले विश्वकप फुटबलको अन्तिम–१६ मा मेक्सिकोविरुद्ध हुने खेललाई चुनौतीपूर्ण मान्दै इंग्लिस टोली दबाब र प्रतिकूल वातावरणबाट नआत्तिने बताएका छन्। घरेलु समर्थकको ठूलो उपस्थितिसहित कठिन परिस्थितिमा खेल्नुपर्ने भए पनि इङ्गल्यान्ड चुनौती सामना गर्न सक्षम रहेको उनको भनाइ छ।
शियररका अनुसार मेक्सिको सिटीस्थित स्टेडियममा ८० प्रतिशतभन्दा बढी दर्शक मेक्सिकोको पक्षमा रहने अनुमान छ। त्यसैले यो खेल इङ्गल्यान्डका लागि प्रतियोगिताको अहिलेसम्मकै सबैभन्दा कठिन परीक्षा हुन सक्ने उनले उल्लेख गरेका छन्। यसअघि एटलान्टामा प्रजातान्त्रिक गणतन्त्र कङ्गोविरुद्धको खेलमा भने अधिकांश दर्शक इङ्गल्यान्डको समर्थनमा थिए।
सन् १९८६ को विश्वकपमा अर्जेन्टिनासँग पराजित भएपछि इङ्गल्यान्डले पहिलो पटक उक्त स्टेडियममा प्रतिस्पर्धा गर्न लागेको हो। ऐतिहासिक रूपमा पनि मैदान मेक्सिकोका लागि बलियो गढ मानिन्छ।
खेलअघि इङ्गल्यान्ड टोली बसेको होटल बाहिर रातभर पटाका पड्काउने, हर्न बजाउने तथा अन्य गतिविधिमार्फत खेलाडीलाई असहज बनाउने प्रयास भइरहेको छ। अन्तिम–३२ को खेलअघि इक्वेडरको टोलीले पनि यस्तै अवस्थाको सामना गरेको थियो। तर, प्रिमियर लिगमा लामो अनुभव बटुलेका इङ्गल्यान्डका खेलाडी यस्ता मनोवैज्ञानिक दबाबबाट प्रभावित नहुने शियररको विश्वास छ।
तथ्यांकले पनि मेक्सिकोको घरेलु बलियो उपस्थिति देखाउँछ। सन् १९६६ यता एजुटेका स्टेडियममा खेलेका ८९ प्रतिस्पर्धात्मक खेलमध्ये मेक्सिको केवल दुई खेलमा पराजित भएको छ। यद्यपि, उक्त कीर्तिमानलाई सम्मान गर्नुपर्ने भए पनि मेक्सिको अपराजेय टोली भने नरहेको शियररको विश्लेषण छ।
उनका अनुसार इङ्गल्यान्डका खेलाडीले विपक्षीको प्रतिष्ठा वा दर्शकको दबाबभन्दा पनि आफ्नो प्रदर्शनमा केन्द्रित भए क्वाटरफाइनल यात्रा तय गर्ने सम्भावना बलियो रहनेछ।