मुआब्जा विवाद टुंगिएपछि जयनगर–बर्दिबास रेलमार्गले गति समात्यो, दुई वर्षभित्र सेवा विस्तारको लक्ष्य

Breaking Nepal

आइतबार ,असार २१ , २०८३ ११:५७

जनकपुरधाम। लामो समयदेखि रोकिएको जग्गा मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास रेलमार्ग निर्माणले पुनः गति लिएको छ। नेपाल रेल्वे कम्पनीले आगामी दुई वर्षभित्र बर्दिबाससम्म रेल सेवा विस्तार गर्ने लक्ष्यसहित निर्माण कार्य तीव्र पारिएको जनाएको छ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक परिवेश पराजुलीका अनुसार मुआब्जा विवाद अन्त्य भएपछि भारतीय निर्माण कम्पनी इरकन इन्टरनेसनलले धनुषा र महोत्तरी क्षेत्रमा ट्र्याक निर्माणलाई तीव्रता दिएको छ। निर्माण सम्पन्न गर्ने समयसीमा लक्षित गर्दै काम अघि बढाइएको उनले बताए।

कुल ७० किलोमिटर लम्बाइको निर्माणाधीन जयनगर–बर्दिबास रेलमार्गमध्ये जयनगर–कुर्था खण्डमा २०७८ चैत १९ गतेदेखि नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ। बाँकी खण्ड सम्पन्न भएपछि रेल सेवा बर्दिबाससम्म विस्तार हुनेछ।

यसैबीच, नेपाल रेल्वे कम्पनीले अतिक्रमणमा परेको रेल्वेको जग्गा पहिचान गर्ने अभियान पनि सुरु गरेको छ। विभिन्न स्थानमा रेल्वेको स्वामित्वमा रहेको जग्गा अतिक्रमण भएको देखिएपछि नक्साका आधारमा खोजी तथा अभिलेख अद्यावधिक गर्ने काम अघि बढाइएको महाप्रबन्धक पराजुलीले बताए।

नेपाल–भारत द्विपक्षीय सहकार्यअन्तर्गत निर्माणाधीन जयनगर–बर्दिबास ब्रोडगेज रेलमार्गलाई दुई देशबीचको महत्त्वपूर्ण सीमापार पूर्वाधार परियोजनाका रूपमा हेरिएको छ। परियोजना सम्पन्न भएपछि सीमा पार आवागमन सहज हुने, व्यापारिक गतिविधि विस्तार हुने तथा नेपालको रेल पूर्वाधार विकासले थप गति लिने अपेक्षा गरिएको छ।