कोशी पुलसँगै विस्तारियो बजार, पेडा व्यवसायले खोल्यो आम्दानीको नयाँ ढोका

Breaking Nepal

आइतबार ,असार २१ , २०८३ १२:०४

सुनसरी। वैदेशिक रोजगारीबाट फर्किएका सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराघाटका महेश साहले स्थानीय पेडा व्यवसायलाई आयआर्जनको भरपर्दो माध्यम बनाएका छन्। मलेसियामा ११ वर्ष बिताएका साह अहिले आफ्नै गाउँमा पेडा उत्पादन तथा बिक्रीबाट मासिक ८० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन्।

स्वदेश फर्किएपछि केही वर्ष धरान–चतरा–रामपुर सडकखण्डमा ट्याम्पो चलाएका साहले चतराघाटमा सञ्चालन भइरहेका पेडा पसलबाट प्रेरित भएर तीन वर्षअघि मिठाइ व्यवसाय सुरु गरेका थिए। प्रारम्भमा विभिन्न प्रकारका मिठाइ उत्पादन गरे पनि पछि पेडामा केन्द्रित भएपछि व्यवसायले गति लिएको उनले बताए।

कुनै समय कोशी नदी किनारको चतराघाट ढिके नुनको व्यापारका लागि परिचित थियो। साहका परिवार पनि त्यही व्यापारसँग जोडिएका थिए। समयसँगै व्यापारको स्वरूप परिवर्तन हुँदै अहिले चतराघाट पूर्वी नेपालको पेडा उत्पादन र बिक्रीका लागि परिचित गन्तव्य बन्दै गएको छ।

विक्रम संवत् २०७२ मा चतरा–कोशी पुल सञ्चालनमा आएपछि धरान, इटहरी, विराटनगरलगायत पूर्वी क्षेत्रबाट चतरा–गाईघाट–सिन्धुली हुँदै काठमाडौं जाने वैकल्पिक सडकमार्गको प्रयोग बढ्यो। त्यससँगै यात्रुको चहलपहल र स्थानीय व्यापारिक गतिविधिमा उल्लेख्य वृद्धि भएको साहको अनुभव छ।

बढ्दो आवागमनसँगै पेडाको माग पनि निरन्तर बढिरहेको छ। अहिले उनको पसलबाट विभिन्न जिल्लाका यात्रुले पेडा खरिद गर्ने गरेका छन् भने अनलाइनमार्फत आउने अर्डरसमेत डेलिभरीमार्फत पूरा गरिँदै आएको छ।

साहले दैनिक १२० लिटरभन्दा बढी दूध प्रयोग गरी पेडा उत्पादन गर्ने गरेका छन्। उत्पादनका लागि आवश्यक दूध उदयपुरको रामपुर र श्रीलङ्का टप्पु क्षेत्रबाट खरिद गर्ने गरिएको उनले बताए।

उनका अनुसार वैदेशिक रोजगारीमा लामो समय मेहनत गर्दा मासिक ४० देखि ४५ हजार रुपैयाँ मात्र बचत हुन्थ्यो। अहिले भने आफ्नै गाउँमा परिवारसँग बस्दै मासिक ७० देखि ८० हजार रुपैयाँसम्म आम्दानी भइरहेको छ। आर्थिक आम्दानीसँगै आफ्नै ठाउँमा उद्यम सञ्चालन गर्न पाउनु नै सबैभन्दा ठूलो उपलब्धि भएको उनी बताउँछन्।

हाल चतराघाट क्षेत्रमा एक दर्जनभन्दा बढी पेडा पसल सञ्चालनमा छन्। कोशी पुल निर्माणपछि बढेको सवारी आवागमनसँगै स्थानीय उद्यम विस्तार भएको छ भने चतराघाट पूर्वी नेपालको पेडा व्यवसायको उदीयमान केन्द्रका रूपमा स्थापित हुँदै गएको छ।