कर्णालीमा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच मैत्रीपूर्ण फुटबल, पूर्व–राष्ट्रिय खेलाडीको जमघट हुने

Breaking Nepal

आइतबार ,असार २१ , २०८३ १३:३७

कर्णाली। कर्णाली प्रदेश रङ्गशालामा आगामी शनिबार ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ।

ग्रिनल्याण्ड फुटबल एकेडेमी र ह्युमन राइट्स सोसाइटीको संयुक्त आयोजनामा हुने प्रतियोगिताबारे आइतबार आयोजित पत्रकार सम्मेलनमा एकेडेमीका अध्यक्ष शशी केसीले जानकारी दिएका हुन्।

प्रतियोगितामा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्वअध्यक्ष तथा पूर्वराष्ट्रिय खेलाडी गणेश थापा, पूर्वराष्ट्रिय खेलाडीहरू उपेन्द्रमान सिंह, अनिल गुरुङ, बालगोपाल महर्जन, सागर थापा, हरि खड्कालगायतको सहभागिता रहनेछ।

कर्णाली प्रदेशमा पहिलोपटक पूर्वराष्ट्रिय खेलाडीहरूको सहभागितासहित यति स्तरको मैत्रीपूर्ण प्रतियोगिता आयोजना हुन लागेको आयोजकले जनाएको छ। प्रतियोगितालाई खेलकुद प्रवर्द्धन तथा कर्णालीमा फुटबल संस्कृतिको विस्तारका दृष्टिले महत्वपूर्ण मानिएको छ।

कर्णाली लेजेन्ड्स टोलीमा राष्ट्रिय खेलाडी रोहित चन्द, प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव रवीन्द्र चन्द, नवीन भण्डारी, जनक रावल, जनक थापा, नारायण कोइराला, ऋषि गिरी, ललित बसेललगायत खेलाडी सहभागी हुनेछन्।

आयोजकका अनुसार प्रतियोगिताले स्थानीय प्रतिभा र राष्ट्रिय स्तरका खेलाडीबीचको अनुभव आदान–प्रदानलाई समेत सुदृढ गर्ने अपेक्षा गरिएको छ।