Breaking Nepal

काठमाडौं । कृषि, वन तथा वातावरणमन्त्री तथा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) की अध्यक्ष गीता चौधरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका कर्मचारीमाथि कारबाही प्रक्रिया अघि बढाएकी छन्।
यसअन्तर्गत नार्कमा कार्यरत दुई कर्मचारीलाई कर्मचारी प्रशासन विनियमावली, २०६२ अनुसार अनुपस्थित रहेको मितिदेखि नै लागू हुने गरी सेवाबाट हटाइएको छ।
मन्त्री चौधरीका अनुसार सरकारले सुशासन र प्रभावकारी सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकतामा राखेकाले जिम्मेवारी पूरा नगरी दरबन्दी मात्र ओगटेर बस्ने कर्मचारीविरुद्ध आवश्यक कदम चालिएको हो।
उनले नार्कबाट सुरु गरिएको यस्तो कारबाही मन्त्रालयअन्तर्गतका अन्य विभाग, केन्द्र तथा निकायमा लामो समयदेखि सम्पर्कविहीन वा अनुपस्थित रहेका कर्मचारीमाथि पनि विस्तार गरिने बताएकी छन्।
परिषद्ले सम्बन्धित कर्मचारीलाई घर ठेगानामा पत्राचार गर्नुका साथै राष्ट्रिय दैनिकमार्फत सात दिनभित्र सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको थियो। तोकिएको समयभित्र पनि सम्पर्कमा नआएपछि कार्यकारी समितिको निर्णयअनुसार उनीहरूलाई सेवाबाट हटाइएको हो।
सेवाबाट हटाइएका कर्मचारीमा कृषि अनुसन्धान निर्देशनालय, तरहरा, सुनसरीमा कार्यरत प्राविधिक अधिकृत छैटौँ पार्वती जोशी तथा राष्ट्रिय जैविक प्रविधि अनुसन्धान केन्द्र, खुमलटार, ललितपुरमा कार्यरत वैज्ञानिक एस–१ नमिता भट्टराई रहेका छन्।