Breaking Nepal

विराटनगर / धान र उखु खेतीको मुख्य सिजनमा रासायनिक मलको अभाव चर्किएपछि किसानले दैनिक कामकाज नै छाडेर मल खोज्न बजार धाउनुपर्ने अवस्था बनेको छ। आवश्यकता टनमा भए पनि आपूर्ति किलोमा सीमित हुँदा खेतीपाती नै प्रभावित हुने चिन्ता किसानले व्यक्त गरेका छन्।
सुनसरीको बर्जु गाउँपालिका–३ का ओमप्रकाश मण्डल पेशाले इन्जिनियर हुन्। आफ्नै व्यवसाय सञ्चालन गरिरहेका उनले पछिल्ला केही दिनदेखि इन्जिनियरिङको काम छाडेर युरिया र डीएपी मलको खोजीमा समय बिताइरहेका छन्।
मण्डलले डेढ बिघा जमिनमा उखु र करिब एक बिघामा धान खेती गरेका छन्। उनका अनुसार उखु र धानका लागि कम्तीमा पाँच बोरा युरिया र तीन बोरा डीएपी आवश्यक छ। तर सुनसरीमा मल नपाएपछि उनी बिहीबार विराटनगरका विभिन्न कृषि सामग्री पसलमा दिनभरि धाए पनि आवश्यक परिमाणमा मल उपलब्ध हुन सकेन।
उनका अनुसार अधिकांश पसलमा पाँच, सात वा १० किलोका दरले मात्र मल बिक्री भइरहेको छ। एकै स्थानबाट आवश्यक परिमाणमा मल नपाउँदा किसानले धेरै पसल धाउनुपर्ने बाध्यता छ।
मण्डलले कृषि उत्पादनको आधारभूत आवश्यकता नै सरकारले सुनिश्चित गर्न नसकेको गुनासो गरे। “नेपाललाई कृषि प्रधान देश भनिए पनि किसानले समयमै मल, बीउ र सिँचाइ सुविधा पाउँदैनन्,” उनले भने।
हाल अधिकांश बिक्री केन्द्रमा सम्बन्धित वडाको सिफारिसका आधारमा सीमित परिमाणमा मात्रै मल वितरण भइरहेको छ। किसानका अनुसार यो व्यवस्था मागको तुलनामा अत्यन्त न्यून भएकाले खेतीका लागि पर्याप्त हुन सकेको छैन।
विराटनगर–४ का किसान सुरेश मेहताले सरकारले आवश्यक परिमाणमा मल उपलब्ध गराउन नसक्दा कृषि उत्पादनमा प्रत्यक्ष असर पर्ने बताए। उत्पादन वृद्धि गर्ने चर्चा हुने भए पनि त्यसका लागि आवश्यक कृषि सामग्री समयमै उपलब्ध नगराइने उनको भनाइ छ।
मागको तुलनामा आपूर्ति न्यून
विराटनगर महानगरपालिकाको कृषि तथा पशुपन्छी विकास शाखाका अनुसार महानगरभित्र एक हजार ३७५ हेक्टर कृषि योग्य जमिन रहेको छ। उक्त क्षेत्रका लागि एक पटकको मल प्रयोगमै ८० देखि ८५ टन युरिया र ५० देखि ६० टन डीएपी आवश्यक पर्छ। तर हाल उपलब्ध गराइएको मल यस आवश्यकताको निकै सानो हिस्सा मात्रै हो।
महानगरका विभिन्न वडामा कृषि सामग्री संस्थानमार्फत कोटा प्रणालीका आधारमा युरिया र डीएपी वितरण गरिएको छ। वडा अनुसार ५० देखि १५० बोरासम्म युरिया तथा २० देखि ३५ बोरासम्म डीएपी उपलब्ध गराइएको महानगरको तथ्यांक छ। यस्तै, साल्ट ट्रेडिङबाट थप १९५ बोरा युरिया र ३८० बोरा डीएपी वितरण गरिएको छ। दुवै मल ५० केजीका बोरामा प्याक गरिन्छ।
धानलाई प्राथमिकता, उखु खेती अझ संकटमा
महानगरको कृषि तथा पशुपन्छी विकास शाखाका कृषि प्राविधिक प्रवीण पराजुलीका अनुसार विराटनगर क्षेत्रमा वर्षमा औसत तीन बाली लगाइने भएकाले मलको माग स्वाभाविक रूपमा उच्च छ। सरकारले अनुदानमा उपलब्ध गराउने मलले समग्र माग धान्न नसक्ने अवस्था रहेको उनले बताए।
उनका अनुसार हाल उपलब्ध मल धान बालीलाई प्राथमिकता दिएर वितरण गरिएकाले उखुजस्ता अन्य बालीका किसानले आवश्यक मल पाउन सकेका छैनन्।
हर्मुज संकटको असर नेपालसम्म
साल्ट ट्रेडिङका प्रमुख राधेश्याम चौधरीका अनुसार अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा आएको अवरोधका कारण नेपालमा मल आयात प्रभावित भएको छ। अमेरिका–इरान तनावपछि हर्मुज जलडमरूमध्य क्षेत्रमा उत्पन्न ढुवानी समस्याले मल बोकेका जहाज ढिलो पुगेकाले निर्धारित परिमाणमा मल नेपाल भित्रिन नसकेको उनले बताए।
उनका अनुसार हाल सरकारले राखेको बफर स्टकबाट आपूर्ति व्यवस्थापन भइरहेको छ। सरकारले कुल आयातको करिब १० प्रतिशत मल आपत्कालीन अवस्थाका लागि बफर स्टकका रूपमा राख्ने व्यवस्था गरेको छ।
तथ्यांकअनुसार साल्ट ट्रेडिङमार्फत आर्थिक वर्ष २०८१र८२ मा २३ हजार २८२ टन युरिया आयात भएको थियो। चालु आर्थिक वर्ष २०८२र८३ मा यो घटेर १५ हजार ३२७।६० टनमा सीमित भएको छ। चालु वर्षमा २३ हजार ९७३।३० टन डीएपी आयात भएको छ।
धान रोपाइँको मुख्य सिजनमै मल अभाव चर्किएपछि किसानमा उत्पादन घट्ने चिन्ता बढेको छ। कृषि उत्पादन बढाउने सरकारी लक्ष्य पूरा गर्न समयमै पर्याप्त मल आपूर्ति सुनिश्चित गर्नु अहिलेको मुख्य चुनौती बनेको छ।