कोशी अस्पतालमा विशिष्टीकृत आँखा अस्पताल स्थापना गर्ने तयारी

Breaking Nepal

आइतबार ,असार २१ , २०८३ १७:२६

विराटनगर / विराटनगरस्थित कोशी अस्पताल परिसरमा विशिष्टीकृत आँखा अस्पताल स्थापना गर्ने तयारी अघि बढाइएको छ । अस्पतालमा सञ्चालनमा रहेको आँखा उपचार सेवालाई थप विस्तार गर्दै छुट्टै विशिष्टीकृत आँखा अस्पतालका रूपमा विकास गर्ने विषयमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र अस्पताल प्रशासनबीच छलफल भएको हो ।

अस्पताल निरीक्षणका क्रममा मन्त्री मेहताले आकस्मिक कक्ष, विभिन्न वार्ड, प्रयोगशाला, फार्मेसी तथा निर्माणाधीन भवनहरूको अवस्थाबारे जानकारी लिँदै सेवा प्रवाह, सरसफाइ, पूर्वाधार व्यवस्थापन तथा निर्माण कार्यको प्रगतिबारे समीक्षा गरिन् ।

निरीक्षणपछि उनले अस्पताल परिसरको सरसफाइलाई थप प्रभावकारी बनाउन, निर्माण तथा मर्मतसम्भारका काम निर्धारित समयमै सम्पन्न गर्न, आवश्यक रङरोगन तथा पूर्वाधार व्यवस्थापन व्यवस्थित गर्न निर्देशन दिइन् । साथै प्रत्येक विभागको नियमित अनुगमन गरी प्रगति विवरण मन्त्रालयमा पेश गर्न अस्पताल प्रशासनलाई आग्रह गरिन् ।

मन्त्री मेहताले अस्पताल परिसरभित्र रहेका अनाधिकृत संरचना हटाउन मन्त्रालयले एक महिनाअघि दिएको निर्देशन तत्काल कार्यान्वयन गर्न पनि निर्देशन दिइन् । बिरामीले सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण सुनिश्चित गर्नु सरकारको प्राथमिकता रहेको उनको भनाइ थियो ।

कोशी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चन्द्रभाल झाले अस्पतालमा हाल नियमित आँखा उपचार सेवा सञ्चालन भइरहेको जानकारी दिए । जनशक्ति र पूर्वाधारको सीमितताका बाबजुद अस्पतालमा प्रत्येक महिना करिब १५ जना मोतियाबिन्दुका बिरामीको सफल शल्यक्रिया भइरहेको उनले बताए ।

उनका अनुसार विशिष्टीकृत आँखा अस्पताल स्थापना भएपछि आँखा उपचार सेवाको दायरा विस्तार हुनुका साथै विशेषज्ञ सेवा, शल्यक्रिया क्षमता र बिरामीको पहुँच उल्लेखनीय रूपमा वृद्धि हुने अपेक्षा गरिएको छ ।