प्रचण्डले भने– ‘ओलीले त मलाई कमजोर पार्न सकेनन्, बालेनसँग त झन् त्यो सामर्थ्य छैन

Breaking Nepal

आइतबार ,असार २१ , २०८३ १७:३९

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई राजनीतिक रूपमा कमजोर पार्ने सामर्थ्य काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र शाह (बालेन)सँग नभएको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूविरुद्ध विभिन्न आरोप र प्रचारबाजी भए पनि त्यसले राजनीतिक रूपमा असर नपार्ने दाबी गरे । उनका अनुसार आफूलाई कमजोर पार्न सबैभन्दा बढी प्रयास नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वबाट भएको थियो ।

‘ओलीले हामीलाई कमजोर पार्न आफ्नो सबै सामर्थ्य प्रयोग गर्नुभयो,’ प्रचण्डले भने, ‘यदि हामीले कुनै गैरकानुनी काम गरेका हुन्थ्यौं भने उहाँहरूले धेरै पहिले नै जेल हाल्ने अवस्था सिर्जना गरिसक्नुहुन्थ्यो ।’

प्रचण्डले प्रधानमन्त्री तथा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह आफूलाई कमजोर पार्ने हैसियत वा राजनीतिक प्रभावको स्तरमा नरहेको टिप्पणी पनि गरे ।

उनले अघिल्लो सरकारले आफ्नो पार्टीका एक सहसंयोजकमाथि मुद्दा चलाएको स्मरण गर्दै आफूविरुद्ध पनि निराधार आरोप र भ्रम फैलाइएको गुनासो गरे । आफ्नो नाम जोडेर दुबईमा १४० अर्ब रुपैयाँ रहेको भन्ने हल्ला फैलाइएको उल्लेख गर्दै उनले त्यस्ता प्रचारमा कुनै सत्यता नरहेको दाबी गरे ।

प्रचण्डले राजनीतिक प्रतिस्पर्धाका नाममा चरित्रहत्या गर्ने, भ्रम फैलाउने र विभिन्न आरोप लगाउने प्रवृत्ति बढेको भन्दै यस्ता गतिविधिले सत्यलाई पराजित गर्न नसक्ने बताएका छन् ।