मालिकाको सन्देश : अन्तरजातीय विवाहलाई प्रोत्साहन, २५ जोडीलाई नगदसहित सम्मान

Breaking Nepal

सोमबार ,असार २२ , २०८३ १०:२६

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाले दलित समुदायसँग अन्तरजातीय विवाह गरेका २५ जोडीलाई नगदसहित सम्मान गर्दै जातीय विभेद अन्त्यका लागि सामाजिक सन्देश दिएको छ।

लक्षित समुदाय कार्यक्रमअन्तर्गत विनियोजित बजेटबाट गाउँपालिकाले आइतबार आयोजना गरेको कार्यक्रममा सातवटै वडाका अन्तरजातीय विवाह गरेका २५ जोडीलाई प्रतिजोडी तीन हजार पाँच सय रुपैयाँ नगदसहित सम्मान गरेको हो।

गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले समाजमा अझै पनि जातीय विभेद विद्यमान रहेकाले अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्दै सामाजिक सद्भाव र समानताको सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए। उनका अनुसार सदियौँदेखि कायम जातीय विभेदको मानसिकता अन्त्य गर्न व्यवहारमै सकारात्मक उदाहरण स्थापित गर्न आवश्यक भएकाले यस्तो पहल गरिएको हो।

‘समाजमा अझै पनि जातीय विभेदको ठूलो पर्खाल बाँकी छ। त्यसलाई भत्काउन अन्तरजातीय विवाहलाई सम्मान र प्रोत्साहन गर्दै समानताको संस्कार विकास गर्नु आवश्यक छ,’ गर्बुजाले भने।

कार्यपालिका सदस्य प्रतिक्षा रसाइलीले अन्तरजातीय विवाह गरेका धेरै जोडीले अझै पनि सामाजिक विभेद, बहिष्करण र अदृश्य हिंसाजस्ता चुनौती भोगिरहेको उल्लेख गर्दै उनीहरूको मनोबल बढाउने उद्देश्यले पहिलो पटक सम्मान कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए।

गाउँपालिकाको केन्द्र दरवाङमा आयोजित कार्यक्रममा अध्यक्ष गर्बुजा, उपाध्यक्ष लक्ष्मीदेवी घर्ती पुन, प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकाल, वडाध्यक्ष उदयबहादुर बुढाथोकी र पथबहादुर रोका, कार्यपालिका सदस्य प्रतिक्षा रसाइली, दलबहादुर खड्काथोकी तथा वडा नम्बर १ का कार्यवाहक वडाध्यक्ष मानसिंह सापकोटालगायतले सम्मान गरेका थिए।