१० खेलाडीमा सीमित इङ्गल्यान्ड क्वाटरफाइनलमा, मेक्सिकोमाथि ३–२ को संघर्षपूर्ण जित

Breaking Nepal

सोमबार ,असार २२ , २०८३ १०:३९

काठमाडौँ । एक खेलाडी कम हुँदा पनि इङ्गल्यान्डले उत्कृष्ट संयम र रक्षात्मक प्रदर्शन गर्दै मेक्सिकोलाई ३–२ गोल अन्तरले पराजित गरेको छ। फिफा विश्वकपको अन्तिम १६ अन्तर्गत भएको प्रतिस्पर्धात्मक खेल जित्दै इङ्गल्यान्डले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो।

मेक्सिको सिटी स्टेडियममा भएको खेलमा इङ्गल्यान्डले पहिलो हाफमै दुई गोलको अग्रता बनाएको थियो। ३६औँ मिनेटमा बुकायो साकाको पासमा जुड बेलिङघमले गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसको दुई मिनेटपछि कप्तान ह्यारी केनको पासमा बेलिङघमले व्यक्तिगत दोस्रो गोल गरेपछि इङ्गल्यान्ड २–० ले अघि बढ्यो।

पहिलो हाफको अन्त्य हुनुअघि ४२औँ मिनेटमा जे. क्विनोनेसले मेक्सिकोका लागि गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याएपछि प्रतिस्पर्धा थप रोमाञ्चक बनेको थियो।

दोस्रो हाफको ५४औँ मिनेटमा इङ्गल्यान्डका जे. क्वान्साले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। संख्यात्मक रूपमा कमजोर बने पनि इङ्गल्यान्डले दबाब झेल्दै ६०औँ मिनेटमा पाएको पेनाल्टीलाई ह्यारी केनले सदुपयोग गरेपछि टोलीले ३–१ को अग्रता बनायो।

मेक्सिकोले ६९औँ मिनेटमा पेनाल्टीमार्फत खेलमा फर्कने प्रयास गर्‍यो। आर. जिमेनेजले गोल गर्दै अन्तर ३–२ मा झारे पनि त्यसपछि थप गोल हुन सकेन। अन्तिम समयमा मेक्सिकोले लगातार आक्रमण गरे पनि इङ्गल्यान्डको रक्षापंक्तिले अग्रता जोगाउँदै अन्तिम आठमा स्थान सुरक्षित गर्‍यो।

दुई पेनाल्टी, एक रातो कार्ड र लगातार आक्रामक खेलका कारण खेल उच्च प्रतिस्पर्धात्मक बनेको थियो। अब इङ्गल्यान्डले सेमिफाइनल प्रवेशका लागि क्वाटरफाइनलमा नर्वेको सामना गर्नेछ। नर्वेले अन्तिम १६ मा ब्राजिललाई २–१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनल यात्रा तय गरेको थियो।