मुन्दुम पदमार्ग हरियाली अभियानमा ५०० लालीगुराँस, पहिलो चरणमा १०० बिरुवा रोपियो

Breaking Nepal

सोमबार ,असार २२ , २०८३ ११:०९

भोजपुर । भोजपुरको पर्यटकीय तथा धार्मिक महत्त्व बोकेको मुन्दुम पदमार्ग क्षेत्रमा हरियाली विस्तार तथा पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित लालीगुराँस वृक्षरोपण अभियान सुरु गरिएको छ। सगरमाथा वृक्षरोपण महाभियानअन्तर्गत सञ्चालन गरिएको अभियानमा पहिलो चरणमा १०० वटा लालीगुराँसका बिरुवा रोपिएको छ।

डिभिजन वन कार्यालय भोजपुरले उपलब्ध गराएका ५०० बिरुवामध्ये पहिलो चरणमा १०० वटा पदमार्ग क्षेत्रमा रोपिएको हो। बाँकी ४०० बिरुवा गाउँपालिकाको समन्वय र स्थानीय समुदायको सहभागितामा चखेवा क्षेत्रमा चरणबद्ध रूपमा रोपिने डिभिजन वन कार्यालयले जनाएको छ।

गाउँपालिकाका अनुसार पछिल्ला वर्षहरूमा मुन्दुम पदमार्ग आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ। पदमार्गलाई थप हरियालीयुक्त, वातावरणमैत्री र पर्यटकमैत्री बनाउने उद्देश्यले अभियान अघि बढाइएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन्।

उनका अनुसार नेपालको राष्ट्रिय फूलसमेत रहेको लालीगुराँसको संरक्षण र विस्तारले जैविक विविधताको संरक्षणसँगै स्थानीय सांस्कृतिक पहिचानलाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

आइतबार आयोजित वृक्षरोपण कार्यक्रममा गाउँपालिका अध्यक्ष सरोज बस्नेत, प्रमुख जिल्ला अधिकारी राजन पौडेल, डिभिजन वन कार्यालय भोजपुरका प्रमुख खुद्रुस मिया, जनप्रतिनिधि, विभिन्न सरकारी निकायका प्रतिनिधि तथा स्थानीय समुदायको सहभागिता रहेको थियो।

कार्यक्रममा अध्यक्ष बस्नेतले जलवायु परिवर्तनका असर न्यूनीकरण, वातावरण संरक्षण र जैविक विविधताको संवर्द्धनमा वृक्षरोपण प्रभावकारी माध्यम भएको उल्लेख गर्दै रोपिएका बिरुवाको संरक्षणलाई अभियानकै महत्वपूर्ण पक्षका रूपमा लिनुपर्ने बताए।

प्रमुख जिल्ला अधिकारी पौडेलले वातावरण संरक्षणका यस्ता अभियानले स्थानीय तह, वन कार्यालय र समुदायबीचको सहकार्यलाई थप मजबुत बनाउने उल्लेख गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न सामूहिक सहभागिता आवश्यक रहेको बताए।