Breaking Nepal

काठमाडौं । वर्षाका कारण निर्माण कार्य प्रभावित भएपछि अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय स्थगित गरिएको छ। सडक स्तरोन्नतिको कामलाई तीव्रता दिन सोमबारदेखि १५ दिन राति यातायात रोक्ने तयारी गरिए पनि मौसम प्रतिकूल बनेपछि कार्यतालिका संशोधन गरिएको हो।
सडक डिभिजन कार्यालयका अनुसार पछिल्ला केही दिनदेखिको वर्षाले ‘सिटिबी’ र ‘डिबीएम’का लागि तयार पारिएको सब–बेस तह विभिन्न स्थानमा बगाएको तथा क्षति पुर्याएको छ। निर्माणका लागि तय गरिएको कार्ययोजना कार्यान्वयन गर्न कठिन भएपछि रातिको समयमा सडक बन्द नगर्ने निर्णय गरिएको हो।
कार्यालयका इञ्जिनियर सीताराम बुढाथोकीका अनुसार निर्माण कम्पनीले कार्यतालिका पुनः संशोधन गर्नुपर्ने जानकारी गराउँदै निर्धारित निर्माण कार्य केही समयका लागि सार्न अनुरोध गरेको छ।
यसअघि जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकले धुलिखेल–खावा सडकखण्डमा सोमबारदेखि साउन ४ गतेसम्म राति ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गर्ने निर्णय गरेको थियो। सो अवधिमा टिपर तथा ठूला मालवाहक ट्रकलाई पूर्ण रूपमा प्रवेश निषेध गर्ने र अन्य सवारीसाधनलाई पनि रातिको समयमा सञ्चालन गर्न नदिने योजना बनाइएको थियो।
चार किलोमिटर लम्बाइको उक्त सडकखण्ड हाल स्तरोन्नतिको क्रममा रहेको छ। सडक डिभिजन कार्यालय भक्तपुरले असार दोस्रो सातादेखि नै रातिको समयमा यातायात रोकेर निर्माणलाई तीव्रता दिने तयारी गरे पनि आर्थिक वर्षको अन्त्यमा निर्माण सामग्री ढुवानी प्रभावित हुन नदिन त्यसबेला पनि कार्यतालिका परिमार्जन गरिएको थियो।
यसअघि गत चैतमा भने करिब एक महिनासम्म रातिको समयमा पूर्ण रूपमा सवारी आवागमन बन्द तथा दिउँसो एकतर्फी सञ्चालन गरी करिब दुई दशमलव पाँच किलोमिटर सडकमा डिबिएम–पिचको काम सम्पन्न गरिएको थियो।