इन्जिनियरिङ शिक्षामा मनमोहनको बलियो सुरुआत, पहिलो प्रयासमै ८२ प्रतिशत विद्यार्थी सफल

Breaking Nepal

सोमबार ,असार २२ , २०८३ १३:४७

विराटनगर / नेपालको पहिलो प्रदेशस्तरीय प्राविधिक विश्वविद्यालयका रूपमा स्थापित मनमोहन प्राविधिक विश्वविद्यालयले इन्जिनियरिङ शिक्षामा उत्साहजनक सुरुआती उपलब्धि हासिल गरेको छ । विश्वविद्यालयको चारवर्षे स्नातक इन्जिनियरिङ कार्यक्रमको पहिलो ब्याचका ८२.३५ प्रतिशत विद्यार्थी नेपाल इन्जिनियरिङ परिषद्को लाइसेन्स परीक्षामा पहिलो प्रयासमै सफल भएका छन् ।

विश्वविद्यालयका अनुसार लाइसेन्स परीक्षामा सहभागी १७ विद्यार्थीमध्ये १४ जना उत्तीर्ण भएका हुन्। परिषद्को लाइसेन्स प्राप्त गरेसँगै उनीहरूले अब व्यावसायिक रूपमा इन्जिनियरिङ सेवा प्रदान गर्न पाउनेछन् ।

विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङका प्रशासन प्रमुख महेश राईका अनुसार पहिलो ब्याचका सिभिल तथा इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङका विद्यार्थीहरूले परिषद्को लाइसेन्स परीक्षामा उल्लेखनीय सफलता हासिल गरेका हुन्। यसले विश्वविद्यालयको शैक्षिक गुणस्तर र प्राविधिक जनशक्ति उत्पादन क्षमताप्रति सकारात्मक संकेत गरेको उनले बताए ।

परीक्षा विज्ञ इन्जिनियर युवराज चौधरीका अनुसार सिभिल इन्जिनियरिङतर्फ परीक्षामा सहभागी १३ विद्यार्थीमध्ये ११ जना तथा इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङतर्फ सहभागी चारमध्ये तीन जना पहिलो प्रयासमै उत्तीर्ण भएका छन् ।

सिभिल इन्जिनियरिङतर्फ लाइसेन्स प्राप्त गर्ने विद्यार्थीहरूमा अविनाश कुमार साह, अमित कुमार यादव, अनिशा रुचाल, अंशु रौनियार, फनिश कटुवाल, हरि पौडेल, एमडी अबु मिया सुफियान, निर्मला दाहाल, सुदर्शन गिरी, शुभप्रभात काफ्ले र उमेश यादव रहेका छन् । त्यस्तै इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङतर्फ रोशन कुमार मेहता, विश्वो प्रसाद साह र लव नारायण राजवंशी सफल भएका छन् ।

कोशी प्रदेश सरकारले २०७६ सालमा स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालयले २०७८ सालदेखि स्कुल अफ इन्जिनियरिङमार्फत सिभिल तथा इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङमा चारवर्षे स्नातक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

मोरङको बुढीगंगा गाउँपालिका–४, हात्तीमुढामा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयमा हाल इन्जिनियरिङ, फार्मेसी, पाँचवर्षे कानुन (एलएलबी), दुई स्नातकोत्तर कार्यक्रम तथा अस्पताल व्यवस्थापनमा स्नातकोत्तर तहको अध्ययन–अध्यापन भइरहेको छ। साथै आठ वटा विषयमा तीनवर्षे डिप्लोमा कार्यक्रम पनि सञ्चालनमा छन् ।