कोशी प्रदेशमा धान रोपाइँमा गत वर्षभन्दा सुधार, हालसम्म ३१.५ प्रतिशत रोपाइँ

Breaking Nepal

सोमबार ,असार २२ , २०८३ १७:०१

विराटनगर / चालु वर्ष असारको तेस्रो सातासम्म आइपुग्दा कोशी प्रदेशमा धान रोपाइँ गत वर्षको तुलनामा सुधारिएको देखिए पनि राष्ट्रिय स्तरमा भने रोपाइँले अपेक्षित गति लिन सकेको छैन । कृषि विभागको तथ्यांकअनुसार कोशीमा गत वर्ष यही अवधिमा २९.५ प्रतिशत रोपाइँ भएकोमा यस वर्ष ३१.५ प्रतिशत पुगेको छ ।

प्रदेशमा धान खेती हुने कुल २ लाख ७६ हजार ३ सय ८७ हेक्टर क्षेत्रफलमध्ये हालसम्म ८७ हजार ३३ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ । यद्यपि, धान उत्पादनको प्रमुख सिजनका रूपमा रहेको असारको तेस्रो सातासम्म आइपुग्दा राष्ट्रिय औसत अझै सन्तोषजनक बन्न सकेको छैन ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गतको कृषि विभागका अनुसार देशभर धान खेती हुने कुल १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमध्ये हालसम्म ४ लाख ४३ हजार ५ सय ९५ हेक्टरमा मात्रै रोपाइँ भएको छ। यो कुल क्षेत्रफलको ३२.३८ प्रतिशत हो। गत वर्ष यही अवधिमा देशभर ४५ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।

प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ५७.९ प्रतिशत रोपाइँ भएको छ। प्रदेशमा धान खेती हुने १ लाख ५४ हजार ९ सय ५० हेक्टरमध्ये ८९ हजार ७ सय ४२ हेक्टरमा रोपाइँ सम्पन्न भएको हो । यद्यपि, गत वर्ष यही अवधिमा त्यहाँ ८२.८ प्रतिशत रोपाइँ भइसकेको थियो ।

गण्डकी प्रदेशमा ९३ हजार ६ सय ६ हेक्टरमध्ये ३८ हजार ३ सय ८९ हेक्टर अर्थात् ४१ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ । कर्णाली प्रदेशमा ४३ हजार २ सय ९० हेक्टरमध्ये १७ हजार ५ सय ४९ हेक्टर अर्थात् ४०.५ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको छ। गत वर्ष यही अवधिमा गण्डकीमा ५५.६ प्रतिशत र कर्णालीमा ७१.७ प्रतिशत रोपाइँ भएको थियो ।

लुम्बिनी प्रदेशमा धान खेती हुने ३ लाख १ हजार ३ सय ७२ हेक्टरमध्ये १ लाख १२ हजार ५ सय ९ हेक्टर अर्थात् ३७.३ प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ भएको छ । गत वर्ष यही अवधिमा त्यहाँ ५२.१ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।

बागमती प्रदेशमा कुल १ लाख १४ हजार ५ सय २४ हेक्टरमध्ये ३८ हजार २६ हेक्टरमा रोपाइँ सकिएको छ, जुन कुल क्षेत्रफलको ३३.२ प्रतिशत हो । गत वर्ष यही अवधिमा प्रदेशमा ५१.९ प्रतिशत रोपाइँ भएको थियो ।

धान उत्पादनको मुख्य आधार मानिने मधेश प्रदेशमा भने यस वर्ष पनि रोपाइँको गति सबैभन्दा सुस्त देखिएको छ। प्रदेशमा धान खेती हुने ३ लाख ८५ हजार ९ सय ३३ हेक्टरमध्ये हालसम्म ६० हजार ३ सय ४६ हेक्टरमा मात्रै रोपाइँ भएको छ । यो कुल क्षेत्रफलको १५.६ प्रतिशत मात्रै हो, जुन सबै प्रदेशमध्ये सबैभन्दा न्यून हो। गत वर्ष यही अवधिमा मधेशमा २५.१ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।

समग्र तथ्यांकले कोशी प्रदेशले गत वर्षको तुलनामा रोपाइँमा केही सुधार देखाए पनि अधिकांश प्रदेशमा रोपाइँको गति कमजोर रहेकाले राष्ट्रियस्तरमा धान रोपाइँ अपेक्षाभन्दा पछाडि रहेको संकेत गरेको छ ।