विराटनगर घोषणापत्रका ११ बुँदे मुख्य प्रतिबद्धताहरू:
१. एआईको सहयोगमा सृजना गरिएका सामग्रीमा एआई श्रोत अनिवार्य रुपमा उल्लेख गर्नेछौँ।
२. एआईको प्रयोग गर्दा अन्तिम निर्णयकर्ता मानव जनशक्ति नै हुनुपर्नेमा दृढ छौँ ।
३. एआईको सहयोगमा उत्पादन गरि प्रयोग गरिएका सामग्रीको जिम्मेवारी प्रयोगकर्ता पत्रकार वा सञ्चार संस्थाले नै लिने छौँ ।
४. एआई पत्रकारको विकल्प होईन, सहायक मात्र हो भन्ने मान्यता राख्ने छौँ ।
५. समाजमा भ्रम फैलाउने, अश्लिलता जस्ता कुनै पनि काममा एआईको दुरुपयोग नगर्ने नगराउने प्रतिवद्धता व्यक्त गर्दछौँ ।
६. एआईको प्रयोग आवश्यकता अनुसार मात्रै गर्ने र मानव रोजगारी, मानवीयता, सृजनात्मकता, क्रियाशिलता, सत्यता, जिवन्ततालाई असर नपर्ने तर्फ हरसंभव ख्याल गर्नेछौँ।
७. सबै सञ्चारकर्मीहरुलाई एआई प्रयोगमा सिपयुक्त बनाउन एक आपसमा ज्ञान आदान प्रदान तथा प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिनेछौँ ।
८. पत्रकारहरुका लागि एआई आचार संहिता तत्काल आवश्यक भएकाले प्रेस काउन्सिल नेपाल, प्रदेश सरकार, नेपाल पत्रकार महासंघ लगायत सबैलाई तत्काल एआई आचार संहिता जारी गर्न माग गर्दछौँ ।
९. एआईको प्रयोग पत्रकारिता वाहेक अन्य क्षेत्रमा पनि हुने भएकाले शिक्षा, स्वास्थ्य, कृषि, व्यापार, व्यवसाय लगायतका सबै क्षेत्रमा एआईको सही र जिम्मेवार प्रयोगका लागि तीनै तहका सरकारलाई अनुरोध गर्दै पैरवीकर्ता तथा सहजकर्ताको भूमिका खेल्नेछौँ ।
१०. एआईको प्रयोगलाई व्यवस्थीत गर्न स्थानीय सरकार, सरकारी निकाय, सामाजिक तथा निजि संघ संस्थालगायत सबै सकारोकारवालालाई एआई साक्षरता, सचेतना, सिप र शिक्षा फैलाउन, आचारसंहिता निर्माण, प्रशिक्षण लगायतका कार्य तत्काल गर्न ध्यानाकर्षण गराउदछौँ।
११. पत्रकारितामा एआईको सही र जिम्मेवार प्रयोगका बारेमा शिक्षा, सचेतना र सिप प्राप्त गर्ने अवसर उपलब्ध गराएकोमा सहयोगी निकाय आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेश तथा आयोजक विराट टाईम्स मिडिया र प्रशिक्षक जीवन भण्डारीलाई हामी सबै हार्दिक आभार व्यक्त गर्दछौँ ।














