औषधि मात्र होइन भोजन पनि: विपन्न क्षयरोगीलाई नाटा र बीएनएमटीको सहारा

Breaking Nepal

सोमबार ,असार २२ , २०८३ १७:३६

विराटनगर / क्षयरोग उपचारलाई प्रभावकारी बनाउने उद्देश्यसहित मोरङका आर्थिक रूपमा कमजोर बिरामीलाई उपचार अवधिभर पोषणयुक्त खाद्यान्न उपलब्ध गराउने अभियान सञ्चालन गरिएको छ ।

नेपाल क्षयरोग निवारण संस्था (नाटा) मोरङले कार्यक्रममा उपचाररत क्षयरोगीलाई पोषण सामग्री हस्तान्तरण गर्दै बिरामीको स्वास्थ्य सुधारमा पोषणको भूमिका महत्वपूर्ण हुने भएकाले यस्तो सहयोगलाई निरन्तरता दिइएको जनाएको हो । फागुनदेखि सुरु गरिएको कार्यक्रमअन्तर्गत हाल आठ जना बिरामी प्रत्यक्ष लाभान्वित भइरहेका छन् ।

सहयोग प्याकेजमा २५ किलोग्राम चामल, दाल, चना, एक क्रेट अण्डा, न्युट्रेला, खाने तेल तथा सर्वोत्तम पिठोलगायत दैनिक उपभोगका पोषणयुक्त खाद्य सामग्री समावेश छन् । उक्त सामग्री बीएनएमटी नेपाल तथा सावित्रा बस्न्यात फन्ड फर टिबीको सहयोगमा उपलब्ध गराइएको हो ।

कार्यक्रममा बीएनएमटीका कार्यक्रम संयोजक रामप्रसाद कोइरालाले आर्थिक अभावका कारण कतिपय बिरामीले नियमित औषधि सेवन गर्न नसक्ने अवस्था देखिएकाले उपचारसँगै पोषण सहयोगलाई प्राथमिकता दिइएको बताए । उनका अनुसार पर्याप्त पोषण प्राप्त हुँदा बिरामीको रोग प्रतिरोधात्मक क्षमता बढ्नुका साथै उपचारको प्रभावकारिता पनि सुधार हुने अपेक्षा गरिएको छ ।

नाटाका केन्द्रीय कार्यवाहक अध्यक्ष राजन श्रेष्ठले संस्थाले विगत चार दशकभन्दा लामो समयदेखि बीएनएमटीसँग सहकार्य गर्दै क्षयरोग नियन्त्रणका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे । न्यून आय भएका बिरामीलाई पोषण सहयोग उपलब्ध गराउँदा उनीहरूले नियमित उपचार पूरा गर्ने सम्भावना बढ्ने र स्वास्थ्य लाभ छिटो हुने अनुभवका आधारमा कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।

नाटा मोरङका कार्यवाहक सभापति भैरव क्षेत्रीले क्षयरोग नियन्त्रणका क्षेत्रमा संस्थागत सहकार्य आगामी दिनमा पनि निरन्तर रहने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नाटा मोरङका सचिव भविष श्रेष्ठ, कोषाध्यक्ष गोपाल गुप्ता, पूर्वसभापति शिवनारायण प्रधान, विराटनगरको क्षयरोग नियन्त्रण कार्यक्रमकी फोकल पर्सन गरिमा अधिकारीलगायत सरोकारवालाको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन घनश्याम कोइरालाले गरेका थिए ।