आर्या न्यूरोको सफलता : पिट्युटरी ट्युमर हटाइएपछि बिरामीले पाए नयाँ जीवन

Breaking Nepal

मंगलबार ,असार २३ , २०८३ ०९:५७

विराटनगर / लामो समयदेखि टाउको दुख्ने र विस्तारै एउटा आँखाको दृष्टि कमजोर हुँदै गएपछि उपचारको खोजीमा रहेका धनकुटाका ४८ वर्षीय गंगाशेर राईले सफल मस्तिष्क शल्यक्रियामार्फत नयाँ जीवन पाएका छन् । विराटनगर कञ्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा गरिएको जटिल शल्यक्रियापछि उनको ट्युमर पूर्ण रूपमा हटाइएको मात्रै होइन, गुम्न थालेको दृष्टिसमेत पुनः फर्किएको अस्पतालले जनाएको छ ।

स्वास्थ्य परीक्षणका क्रममा राईको मस्तिष्कस्थित पिट्युटरी ग्रन्थिमा ठूलो आकारको ट्युमर रहेको पुष्टि भएको थियो । वरिष्ठ न्यूरो सर्जन तथा अस्पतालका निर्देशक डा. पंकजराज नेपालको नेतृत्वमा रहेको विशेषज्ञ चिकित्सक टोलीले सफल शल्यक्रिया गरी ट्युमर हटाएको हो ।

डा. नेपालका अनुसार राईमा देखिएको समस्या ‘जायन्ट पिट्युटरी म्याक्रो एडेनोमा’ अर्थात् पिट्युटरी ग्रन्थिमा विकसित भएको ठूलो आकारको ट्युमर थियो । यो ट्युमर सामान्य अवस्थाभन्दा निकै ठूलो भई मस्तिष्कको माथिल्लो भागसम्म फैलिएको थियो ।

उनका अनुसार पिट्युटरी ग्रन्थि शरीरको ‘मास्टर ग्ल्याण्ड’ का रूपमा परिचित छ, जसले शरीरका विभिन्न हर्मोन उत्पादन गर्ने ग्रन्थिहरूको कार्य सञ्चालन तथा नियन्त्रण गर्छ । यही ग्रन्थिको माथिल्लो भागमा दृष्टिसँग सम्बन्धित अप्टिक नर्भ तथा अप्टिक कायाज्म रहने भएकाले त्यहाँ विकसित हुने ठूलो ट्युमरले आँखाको दृष्टिमा प्रत्यक्ष असर पार्न सक्छ ।

राईको अवस्थामा पनि ट्युमरले दृष्टिसम्बन्धी स्नायुलाई दबाब दिएकाले एउटा आँखाको दृष्टि कमजोर हुँदै गएको डा. नेपालको भनाइ छ ।  समयमै गरिएको शल्यक्रियाबाट सम्पूर्ण ट्युमर निकाल्न सफल भएकाले दृष्टि पुनः सामान्य अवस्थामा फर्किएको उनले बताए ।

‘ट्युमर पूर्ण रूपमा हटाइएको छ । बिरामीको स्वास्थ्य अवस्था सन्तोषजनक छ र दृष्टिमा पनि उल्लेखनीय सुधार आएको छ,’ डा. नेपालले भने ।

शल्यक्रियापछि करिब एक सातासम्म अस्पतालमा चिकित्सकीय निगरानीमा रहेका राई सोमबार डिस्चार्ज हुने तयारीमा छन् । उनले सफल उपचारपछि आफूले नयाँ जीवन पाएको अनुभूति भएको प्रतिक्रिया दिए ।

‘टाउको लगातार दुख्ने समस्या थियो । पछि आँखामा पनि असर देखिन थालेपछि उपचारका लागि आएको थिएँ,’ राईले भने, ‘अहिले पूर्ण रूपमा निको महसुस गरिरहेको छु । सफल उपचार गर्ने चिकित्सक टोली र अस्पतालप्रति म अत्यन्त आभारी छु ।’

विशेषज्ञहरूका अनुसार लगातार टाउको दुख्ने, दृष्टि धमिलो हुने, आँखाको दृष्टि क्रमशः घट्ने वा हर्मोनसम्बन्धी असामान्य लक्षण देखिएमा पिट्युटरी ट्युमरको सम्भावनासमेत रहने भएकाले समयमै न्यूरो विशेषज्ञसँग परामर्श लिनु आवश्यक हुन्छ । प्रारम्भिक पहिचान र समयमै उपचार भए जटिल अवस्थामा पुगेका बिरामीको पनि सफल उपचार सम्भव हुने चिकित्सकहरूको भनाइ छ ।