Breaking Nepal

कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये ४६ स्थानीय तहमा मात्रै मौसम मापन केन्द्र सञ्चालनमा रहेका छन् भने बाँकी ३३ स्थानीय तहमा अझै केन्द्र स्थापना हुन सकेको छैन। मौसम मापन पूर्वाधारको अभावले स्थानीयस्तरको मौसम विश्लेषण तथा प्राकृतिक विपद्को पूर्वसूचना प्रणालीमा चुनौती थपिएको छ।
जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख डा. इन्दिरा कँडेलका अनुसार कर्णाली प्रदेशभर हाल ७१ वटा मौसम मापन केन्द्र र ३१ वटा जलमापन केन्द्र सञ्चालनमा छन्। यद्यपि जनशक्ति अभावका कारण दुई वटा केन्द्र पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन्।
उनका अनुसार दैलेख र सुर्खेतको सिमानास्थित गुराँसेमा रहेको मौसम राडार केन्द्र चट्याङका कारण क्षतिग्रस्त भएपछि दुई वर्षदेखि बन्द अवस्थामा छ। उक्त राडारले कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मौसमसम्बन्धी सूचना उपलब्ध गराउने उद्देश्य राखेको थियो।
डा. कँडेलले राडारका लागि आवश्यक उपकरण विदेशबाट खरिद भइसके पनि जडान गर्ने प्राविधिक जनशक्ति नेपालमा उपलब्ध नभएकाले सञ्चालनमा ढिलाइ भएको बताए। आगामी वर्षभित्र उपकरण जडान गरी राडार पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिए।
उनका अनुसार मौसम मापन केन्द्र नहुँदा स्थानीय क्षेत्रको वर्षा, तापक्रम तथा अन्य मौसमीय अवस्थासम्बन्धी तथ्याङ्क सङ्कलन गर्न कठिन हुने गरेको छ। यसले बाढी, पहिरो, अतिवृष्टि लगायत प्राकृतिक विपद्को पूर्वानुमान र समयमै पूर्वसूचना प्रवाहमा प्रत्यक्ष असर पार्ने उनको भनाइ छ।
यसैबीच, कर्णाली प्रदेश सरकारले मौसमसम्बन्धी पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ। प्रदेशका प्रमुख सचिव वीरेन्द्रकुमार यादवले मौसम मापन केन्द्र स्थापना हुन बाँकी रहेका स्थानीय तहमा आवश्यक उपकरण व्यवस्थापनका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
© 2026 Breaking Nepal. All Rights Reserved | Powered By: InDesign Media Pvt. Ltd.






