Breaking Nepal

काठमाडौँ– पशुसेवा विभागले बर्डफ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका पन्छी तथा पन्छीजन्य सामग्रीको क्षतिपूर्तिस्वरूप प्रभावित किसानलाई करिब ५२ करोड रुपैयाँ एक साताभित्र वितरण गर्ने तयारी गरेको छ।
विभागका अनुसार रोग नियन्त्रणका क्रममा नष्ट गरिएका पन्छी, अण्डा तथा दानाको प्रमाणित क्षतिको मूल्याङ्कनका आधारमा सम्बन्धित किसानलाई ७५ प्रतिशत राहत उपलब्ध गराइनेछ।
विभागका प्रवक्ता मुकुल उपाध्यायले क्षतिको दाबी प्रमाणित भएका किसानको बैंक खातामा एक साताभित्र रकम जम्मा गरिने जानकारी दिए। असार मसान्तसम्म क्षतिपूर्ति प्राप्त गर्न नसकेका किसानलाई भने नयाँ आर्थिक वर्षमा रकम उपलब्ध गराइने उनले बताए।
बर्डफ्लु नियन्त्रण नियमावलीअनुसार राहत वितरण गरिने जनाउँदै विभागले क्षति व्यहोरेका किसानलाई आवश्यक प्रमाणसहित सम्बन्धित जिल्ला पशुसेवा कार्यालयमा निवेदन दिन आग्रह गरेको छ।
विभागका अनुसार बर्डफ्लुबाट काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासी सबैभन्दा बढी प्रभावित भएका छन्। हालसम्म करिब सात लाख पन्छी, ११ लाख अण्डा र तीन लाख किलोग्राम दाना नष्ट गरिएको छ भने यसबाट करिब ७० करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ।
© 2026 Breaking Nepal. All Rights Reserved | Powered By: InDesign Media Pvt. Ltd.






