सात जिल्लामा बर्डफ्लु नियन्त्रणमा, चार जिल्लामा अझै सतर्कता कायम

Breaking Nepal

मंगलबार ,असार २३ , २०८३ १२:२९

काठमाडौं– पशुसेवा विभागले झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्डफ्लु रोग नियन्त्रणमा आएको जनाएको छ। यद्यपि काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकमा भने संक्रमण नियन्त्रणका प्रयास जारी रहेका छन्।

विभागका अनुसार बर्डफ्लु पन्छीमा फैलिने उच्च सङ्क्रामक तथा उच्च मृत्युदर भएको रोग हो। संक्रमण फैलिएका क्षेत्रमा प्राविधिक टोली परिचालन गरी संक्रमित पन्छी, पन्छीजन्य पदार्थ तथा उत्पादन सामग्री नष्ट गरेर सुरक्षित व्यवस्थापन गरिएको छ।

विभागका प्रवक्ता डा. मुकुल उपाध्यायले रोग नियन्त्रणका क्रममा पशु क्वारेन्टाइन कार्यालयले उच्च सतर्कता अपनाउँदै गस्ती परिचालन गरेको र अवैध रूपमा भित्र्याइएका पन्छीसमेत नष्ट गरिएको जानकारी दिए।

उनका अनुसार अधिकांश जिल्लामा संक्रमण नियन्त्रणमा आइसकेपछि पन्छीको ओसारपसारमा लगाइएको प्रतिबन्ध क्रमशः खुकुलो बनाइएको छ। बाँकी प्रभावित जिल्लामा भने सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी आवश्यक जनशक्ति परिचालन गर्दै रोग नियन्त्रणका प्रयास जारी रहेको विभागले जनाएको छ।