असिनापानीको मार : झापामा मकै उत्पादन घट्यो

Breaking Nepal

मंगलबार ,असार २३ , २०८३ १२:४८

झापा / झापामा यस आर्थिक वर्ष मकै उत्पादनमा उल्लेख्य गिरावट आएको छ। बेमौसमी असिनापानी र हावाहुरीका कारण ठूलो परिमाणमा बाली नष्ट भएपछि जिल्लाको कुल उत्पादन अघिल्लो वर्षको तुलनामा करिब ६८ हजार मेट्रिक टनले घटेको हो।

कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लाभर ४६ हजार १२५ हेक्टर क्षेत्रफलमा मकै खेती गरिएको थियो। यसबाट दुई लाख ८३ हजार १८७ मेट्रिक टन उत्पादन भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भने ४४ हजार ६२ हेक्टर क्षेत्रफलबाट तीन लाख ५१ हजार ४२६ मेट्रिक टन मकै उत्पादन भएको थियो।

गत फागुनको अन्तिम साता र चैतको पहिलो सातामा आएको बेमौसमी असिनापानी र हावाहुरीले झापाका १५ स्थानीय तहमध्ये ११ वटामा करिब १० हजार २०० हेक्टर क्षेत्रफलको मकैबालीमा क्षति पुर्‍याएको कृषि ज्ञान केन्द्रको तथ्यांक छ। त्यसमध्ये करिब नौ हजार हेक्टर क्षेत्रको उत्पादन पूर्ण रूपमा प्रभावित हुँदा करिब डेढ अर्ब रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको अनुमान गरिएको छ।

सबैभन्दा बढी क्षति बाह्रदशी, झापा गाउँपालिका र गौरादह क्षेत्रमा भएको केन्द्रले जनाएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मकै जोन घोषणा गरिएको झापा गाउँपालिकामा मात्रै करिब तीन हजार ४०० हेक्टरमा मकै खेती हुने गरेकोमा यस वर्ष करिब ४५ करोड रुपैयाँ बराबरको क्षति पुगेको विष्टले जानकारी दिए।

झापा गाउँपालिका–चौबाटोका किसान नवीन भण्डारीले आफ्नै साढे तीन बिघा र थप पाँच बिघा लिजमा लिएर मकै खेती गरेका थिए। तर, हावाहुरी र असिनापानीका कारण पाँच बिघाको बाली पूर्ण रूपमा नष्ट भएको र बाँकी क्षेत्रमा आंशिक क्षति पुगेको उनले बताए। राहत पाउने निश्चितता नभएकाले लगानी, मल, बीउ र श्रम सबै खेर गएको उनको गुनासो छ।

कृषि ज्ञान केन्द्रका अनुसार प्राकृतिक विपद्पछि पनि अधिकांश किसानले क्षतिपूर्ति पाउने अवस्था बनेको छैन। बाली बीमासम्बन्धी विद्यमान व्यवस्थाका कारण धेरै किसान बीमाको दायराभन्दा बाहिर परेका छन्। उच्च उत्पादनको अपेक्षामा किसानले भारतीय हाइब्रिड बीउ प्रयोग गर्ने गरे पनि बीमा कम्पनीले नेपालमा दर्ता भएका बीउ प्रयोग गर्ने किसानलाई मात्रै बीमा सुविधा उपलब्ध गराउने भएकाले क्षतिपूर्ति वितरणमा समस्या देखिएको विष्टले बताए।

जिल्ला विपद् व्यवस्थापन समितिमार्फत संघीय तथा प्रदेश सरकारसमक्ष राहत तथा क्षतिपूर्तिका लागि विवरण पठाइसकिएको भए पनि हालसम्म बजेट उपलब्ध नभएको उनले जानकारी दिए।

उत्पादन घटे पनि प्रतिहेक्टर उत्पादकत्व भने उच्च स्तरमै रहेको कृषि ज्ञान केन्द्रको भनाइ छ। आर्थिक वर्ष २०८०/८१ मा प्रतिहेक्टर ७.८७ मेट्रिक टन रहेको उत्पादकत्व २०८१/८२ मा ७.८८ मेट्रिक टन पुगेको थियो। चालु आर्थिक वर्षमा प्रतिहेक्टर ७.८० मेट्रिक टन उत्पादन भएको छ। अर्थात् उत्पादकत्वमा ठूलो गिरावट नआए पनि प्राकृतिक विपद्का कारण उत्पादनशील क्षेत्रफल घट्दा कुल उत्पादनमा उल्लेख्य कमी आएको हो।

केन्द्रका अनुसार यस वर्ष मकै खेती गरिएको कुल क्षेत्रफल ४६ हजार १२५ हेक्टर भए पनि वास्तविक उत्पादनशील क्षेत्रफल घटेर ३५ हजार ८९२ हेक्टरमा सीमित भएको छ। अघिल्लो वर्ष झापामा करिब १२ अर्ब रुपैयाँ बराबरको मकै कारोबार भएको अनुमान गरिएको थियो।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ झापाका प्रमुख रवीन्द्र सुवेदीले प्रविधिमैत्री खेती र हाइब्रिड जातको प्रयोग बढ्दै जाँदा उत्पादन क्षमता निरन्तर सुधार हुँदै गएको बताए। तर, यस वर्षको बेमौसमी असिनापानी र हावाहुरीले त्यो सम्भावित उपलब्धिलाई ठूलो धक्का दिएको उनको भनाइ छ। उनका अनुसार आधुनिक प्रविधि र उन्नत बीउको प्रयोग बढे पनि जलवायुजन्य जोखिम न्यूनीकरणका प्रभावकारी उपाय र किसानमैत्री बीमा प्रणालीको अभावले कृषि क्षेत्र थप जोखिममा परेको छ।