साउनदेखि ललितपुरमा ‘घरमै उपचार’ सेवा, ११३१ मा फोन गरे पुग्ने डाक्टर–एम्बुलेन्स

Breaking Nepal

मंगलबार ,असार २३ , २०८३ १७:४५

ललितपुर / ललितपुर महानगरपालिकाले आगामी साउन १ गतेदेखि घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने नयाँ कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ । आपत्कालीन तथा आधारभूत उपचारलाई सहज र छिटो बनाउने उद्देश्यसहित सुरु गर्न लागिएको यस सेवाअन्तर्गत हटलाइन नम्बर ११३१ मा फोन गरेपछि स्वास्थ्य टोली बिरामीको घरमै पुग्नेछ ।

महानगर प्रमुख चिरीबाबु महर्जन का अनुसार हटलाइनमा सम्पर्क भएपछि एम्बुलेन्स, डाक्टर, नर्स र आवश्यक औषधि तथा मेडिकल उपकरणसहितको टोली तत्काल परिचालन गरिनेछ। टोलीले घरमै पुगेर स्वास्थ्य परीक्षण, परामर्श र प्राथमिक उपचार प्रदान गर्ने व्यवस्था गरिएको छ ।

घरमै उपचार सम्भव नभएका अवस्थामा मात्र बिरामीलाई आवश्यकताअनुसार सम्बन्धित अस्पतालमा रेफर गरिने महानगरको तयारी छ । यसले अस्पतालको अनावश्यक भीड घटाउने र समयमै उपचार सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।

महानगरले उक्त सेवामार्फत नागरिकलाई सहज, छिटो र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउँदै शहरी स्वास्थ्य पहुँचलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य लिएको जनाएको छ ।