Breaking Nepal

विराटनगर / कोशी प्रदेशसभाले प्रदेश खेलकुद ऐन पहिलो संशोधन अध्यादेश–२०८३ लाई प्रतिस्थापन गर्ने विधेयक पारित गरेको छ । मंगलबार बसेको प्रदेशसभा बैठकबाट विधेयक अनुमोदन भएसँगै अध्यादेशमार्फत गरिएको खेलकुद बोर्डको नयाँ संरचनाले कानुनी मान्यता प्राप्त गरेको हो ।
पारित विधेयकअनुसार प्रदेश खेलकुद बोर्डमा एक सदस्यसचिव, दुई उपाध्यक्ष र १३ सदस्य रहने व्यवस्था गरिएको छ । यसअघि बोर्डमा एक सदस्यसचिव, एक उपाध्यक्ष र नौ सदस्य रहने कानुनी व्यवस्था थियो । संशोधनपछि बोर्डको संरचना विस्तार गरिएको हो ।
प्रदेश सरकारले बजेट अधिवेशन सुरु हुनुअघि गत वैशाख २८ गते अध्यादेश जारी गर्दै खेलकुद ऐन संशोधन गरेको थियो । त्यसबेला अध्यादेशमार्फत राजनीतिक भागबण्डाका आधारमा पदाधिकारी नियुक्त गर्न खोजिएको भन्दै सरकारको आलोचना भएको थियो ।
विशेषगरी संघीय सरकारले संसद् अधिवेशन नरहेका बेला अध्यादेश ल्याएको विषयमा सार्वजनिक रूपमा आलोचना गर्दै आएका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले नै प्रदेशमा अध्यादेश जारी गरेपछि राजनीतिक रूपमा विरोधसमेत भएको थियो ।
प्रदेश खेलकुद बोर्डको सदस्यसचिव पद गत कात्तिकदेखि रिक्त थियो । रिक्त पदमा नयाँ सदस्यसचिव नियुक्त गर्नुका साथै दुई उपाध्यक्ष र थप सदस्य नियुक्त गर्न अध्यादेश जारी गरिएको थियो ।
अध्यादेश जारी भइसकेपछि सत्तारुढ नेकपा (एमाले) र नेपाली कांग्रेसबीचको राजनीतिक समझदारीअनुसार खेलकुद बोर्डका पदाधिकारी नियुक्त भइसकेका छन् । अब प्रदेशसभाबाट प्रतिस्थापन विधेयक पारित भएसँगै ती नियुक्तिले कानुनी आधारसमेत प्राप्त गरेका छन् ।