मौद्रिक नीतिपछि पनि बजारमा उत्साह आएन, नेप्से ३० अंकले घट्यो

Breaking Nepal

बुधबार ,असार २४ , २०८३ १५:३२

काठमाडौं– आगामी आर्थिक वर्षका लागि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको भोलिपल्ट पनि सेयर बजारमा अपेक्षित सुधार देखिएन। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार ३०.०९ अंकले घट्दै २६२१.५९ बिन्दुमा झरेको छ।

बुधबार ४ अर्ब ८२ करोड ६० लाख ८४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। मौद्रिक नीतिपछि लगानीकर्तामा सकारात्मक मनोविज्ञान बन्न नसक्दा बजारमा बिक्री दबाब हाबी भएको देखिएको हो।

कारोबार भएका कम्पनीमध्ये २५ कम्पनीको सेयर मूल्य बढ्दा २४७ कम्पनीको मूल्य घटेको छ। यस्तै, ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

समूहगत प्रदर्शनतर्फ म्युचुअल फन्ड समूह बाहेक सबै उपसूचक घटेका छन्। अधिकांश क्षेत्रमा लगानीकर्ता बिक्रीतर्फ केन्द्रित हुँदा बजार समग्र रूपमा राताम्य बनेको हो।

बजार विश्लेषकहरूका अनुसार मौद्रिक नीतिले तत्काल बजारमा सकारात्मक प्रभाव पार्न नसक्दा लगानीकर्ता अझै ‘पर्ख र हेर’को अवस्थामा देखिएका छन्। त्यसको प्रभाव बुधबारको कारोबारमा स्पष्ट रूपमा देखिएको छ