बालेनलाई एसएमएस गरेपछि विवादमा परेका सचिव कृष्णहरि पुष्कर अवकाशमा

Breaking Nepal

बुधबार ,असार २४ , २०८३ १६:०१

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’लाई एसएमएस पठाएको विषयलाई लिएर चर्चामा आएका नेपाल सरकारका सचिव कृष्णहरि पुष्कर बुधबारदेखि अनिवार्य अवकाशमा गएका छन्।

२०७८ असार २४ गते सचिवमा बढुवा भएका पुष्करले सचिव पदमा पाँच वर्षे कार्यकाल पूरा गरेसँगै अनिवार्य अवकाश पाएका हुन्। उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त (जगेडा) समूहमा रहेकै अवस्थामा सेवाबाट बाहिरिएका हुन्।

२०५३ माघ १७ गते निजामती सेवामा प्रवेश गरेका पुष्करले अर्थ मन्त्रालय, राजस्व सचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा उपराष्ट्रपतिको कार्यालयलगायतका महत्वपूर्ण निकायमा जिम्मेवारी सम्हालेका थिए।

उपराष्ट्रपतिको कार्यालयमा कार्यरत रहँदा राजदूत नियुक्तिका लागि परेको आवेदनबारे जानकारी माग्दै प्रधानमन्त्री बालेन्द्र शाहलाई एसएमएस पठाएको विषय सार्वजनिक भएपछि उनी विवादमा तानिएका थिए। त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर केही घण्टा सोधपुछ गरेको थियो।

उक्त घटनापछि सरकारले पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा सरुवा गरेको थियो। त्यसयता उनले कुनै नयाँ जिम्मेवारी नपाई सेवाकाल पूरा गरेका हुन्।

२०३१ साउन १३ गते जन्मिएका पुष्कर सचिव पदको पाँच वर्षे कार्यकाल पूरा भएपछि ५२ वर्ष नपुग्दै सेवाबाट अवकाशमा गएका छन्।