Breaking Nepal

उदयपुर / उदयपुरको बेलका नगरपालिकामा विद्युत मर्मत कार्यका क्रममा करेन्ट लागेर नेपाल विद्युत प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ।
बुधबार बिहान करिब १०ः३० बजे बेलका नगरपालिका–९ स्थित रामपुर नगर अस्पताल नजिकै विद्युतको पोलमा चढेर मिटर बक्सको तार जडान गर्ने क्रममा नेपाल विद्युत प्राधिकरणको रामपुर वितरण केन्द्रमा कार्यरत ४० वर्षीय मिलन राई करेन्टको चपेटामा परेका हुन् ।
प्रहरीका अनुसार करेन्ट लागेपछि राई करिब चार मिटर उचाइबाट भुइँमा खस्दा गम्भीर घाइते भएका थिए। उनलाई तत्काल रामपुर नगर अस्पताल पुर्याई प्राथमिक उपचार गरिएको थियो ।
चिकित्सकको सिफारिसपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल रेफर गरिएका राईको दिउँसो १२ः०५ बजे उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
घटनाबारे इलाका प्रहरी कार्यालय रामपुरठोक्साबाट खटिएको प्रहरी टोलीले आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।