Breaking Nepal

विराटनगर / रगतको अभाव न्यूनीकरण गर्ने उद्देश्यले विराटनगर–१ शान्तिचोकमा आयोजित बृहत् खुला रक्तदान कार्यक्रमबाट ५१ पिन्ट रगत संकलन भएको छ ।
शान्तिचोक युवा समूहको आयोजनामा सम्पन्न कार्यक्रममा ५१ जना स्वेच्छिक रक्तदाताले रक्तदान गरेका थिए। संकलित रगत उपचारका क्रममा रगत आवश्यक पर्ने बिरामीका लागि उपयोग हुने नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाका सभापति सुखदेव प्रसाद मण्डल प्रमुख अतिथि तथा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटुवाल विशेष अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, युवा समूहका सल्लाहकार, पदाधिकारी, सदस्य, बुद्धिजीवी तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमको प्रारम्भमा समूहका सचिव गोविन्द श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।
समूहका अध्यक्ष सन्तोष महत (स्यान्ट्रो) ले पछिल्लो समय रगत अभावका कारण धेरै बिरामीले समयमै उपचार नपाउने अवस्था देखिएकाले सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको बताए। ‘रक्तदान जीवनदान हो’ भन्ने सन्देशलाई व्यवहारमा उतार्दै स्वस्थ नागरिकलाई नियमित रूपमा रक्तदान गर्न उनले आग्रह गरे।
कार्यक्रमको समापनमा आयोजकले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सहयोगी संस्था, स्वयंसेवक, सञ्चारकर्मी तथा रक्तदान गर्ने सबै ५१ जना रक्तदाताप्रति आभार व्यक्त गरेको छ ।