Breaking Nepal

विराटनगर / औषधि उत्पादन, अनुसन्धान, विश्लेषण तथा नियमनका क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित मनमोहन प्राविधिक विश्वविद्यालयले औषधि विज्ञानमा स्नातकोत्तर तहको मास्टर अफ फार्मेसी (एमफार्म) कार्यक्रम सञ्चालन गर्ने तयारी अघि बढाएको छ ।
विश्वविद्यालयको स्कुल अफ मेडिसिन एन्ड एलाइड हेल्थ साइन्सेसअन्तर्गत फार्मेसी विभागले एमफार्म कार्यक्रमका लागि पाठ्यक्रम निर्माण प्रक्रिया सुरु गर्दै उद्योग, नियामक निकाय, विश्वविद्यालय तथा विषयगत विज्ञसँग परामर्श थालेको हो ।
आइतबार विराटनगरमा आयोजित ‘एमफार्म इन फार्मास्युटिक्स करिकुलम डेभलपमेन्ट’ कार्यशालामा औषधि शिक्षा, औषधि उद्योग, सरकारी नियामक निकाय र विश्वविद्यालयका प्रतिनिधिले पाठ्यक्रमको संरचना, गुणस्तर तथा उद्योगसँगको सम्बन्धबारे सुझाव दिएका थिए ।
पाठ्यक्रम विज्ञ डा. धर्मप्रसाद खनालले प्रस्तावित एमफार्म कार्यक्रमले व्यावसायिकता, नैतिकता र आचारसंहितामा आधारित दक्ष फार्मासिस्ट उत्पादन गर्ने बताए । उनका अनुसार कार्यक्रमले औषधि क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको अध्ययन, अनुसन्धान तथा मूल्याङ्कन गर्न सक्ने जनशक्ति तयार पार्नेछ। यसबाट औषधि उद्योग, अनुसन्धान र परियोजना व्यवस्थापनमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने दक्ष जनशक्ति उत्पादन हुने अपेक्षा गरिएको छ ।
प्रोफेसर डा. उत्तम बुढाथोकीले पाठ्यक्रम अन्तर्राष्ट्रिय मापदण्ड, नेपालको औषधि उद्योगको आवश्यकता तथा अनुसन्धानमुखी शिक्षालाई केन्द्रमा राखेर तयार गरिने जानकारी दिए। सरोकारवालाबाट प्राप्त सुझावका आधारमा व्यवहारिक र समयानुकूल पाठ्यक्रम तयार गरिने उनले बताए ।
कार्यशालामा सहभागी औषधि उद्योगीहरूले विश्वविद्यालयले उद्योगको आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए । गुराँस फार्मास्युटिकलका सञ्चालक राजेश प्रसाईले उद्योग र विश्वविद्यालयबीचको सहकार्यलाई सुदृढ बनाउनुपर्ने बताए । अर्का उद्योगी राजु अधिकारीले व्यवहारिक ज्ञान र सीप भएका जनशक्तिलाई उद्योगले सहजै रोजगारी दिन सक्ने उल्लेख गरे ।
पूर्वाञ्चल विश्वविद्यालयको स्कुल अफ मेडिसिनका डिन श्यामकुमार मल्लिकले औषधि विज्ञानमा स्नातकोत्तर कार्यक्रम सञ्चालन गर्ने मनमोहनको पहललाई सकारात्मक भन्दै कार्यक्रम छिट्टै सञ्चालनमा ल्याउन सुझाव दिए।
नेपाल फार्मेसी काउन्सिलकी रजिष्ट्रार उषा ताण्डुकारले औषधि विज्ञानमा स्नातकोत्तर उत्तीर्ण जनशक्तिलाई सूचीकृत गर्न आवश्यक कानुनी व्यवस्था संशोधनको तयारी भइरहेको जानकारी दिइन् । उनका अनुसार नेपालमा औषधि उद्योग, औषधि व्यवस्था विभाग, शिक्षण संस्था, गुणस्तर नियन्त्रण तथा अनुसन्धान प्रयोगशालामा दक्ष फार्मेसी जनशक्तिको माग निरन्तर बढिरहेको छ ।
औषधि व्यवस्था विभाग, कोशी प्रदेशकी निमित्त प्रमुख संजिता वर्माले दक्ष प्राविधिक जनशक्तिको अभावका कारण नियमन प्रभावकारी बनाउन चुनौती रहेको उल्लेख गर्दै विश्वविद्यालयको पहलले त्यसलाई सम्बोधन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
नेपाल फार्मेसी एसोसिएसन, कोशीका सचिव दीपेन्द्र खड्काले अन्तर्राष्ट्रिय स्तरअनुकूल पाठ्यक्रम विकास गर्न सके स्वदेशसँगै विदेशमा समेत नेपाली जनशक्तिको प्रतिस्पर्धात्मक क्षमता बढ्ने बताए ।
मनमोहन प्राविधिक विश्वविद्यालयका रजिष्ट्रार डा. किशोर अधिकारीले सरोकारवालाबाट प्राप्त सुझाव समेटेर राष्ट्रिय आवश्यकता र अन्तर्राष्ट्रिय मापदण्डअनुसार पाठ्यक्रमलाई अन्तिम रूप दिइने बताए। उनका अनुसार एमफार्म कार्यक्रम सञ्चालन भएपछि औषधि विज्ञानमा उच्च अध्ययनका लागि विद्यार्थीले स्वदेशमै अवसर पाउनेछन् ।
फार्मेसी विभागका संयोजक शाहीविजय रिजालले कार्यक्रम सञ्चालनका लागि आवश्यक प्रयोगशाला पूर्वाधार तयार भइसकेको जानकारी दिए । पाठ्यक्रम स्वीकृत हुनेबित्तिकै अध्ययन–अध्यापन सुरु गर्ने तयारी रहेको उनले बताए ।
कोशी प्रदेश सरकारले स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालयमा हाल ब्याचलर अफ फार्मेसी (बीफार्म) कार्यक्रम सञ्चालनमा छ । विश्वविद्यालयले अब स्नातकोत्तर तहको एमफार्म कार्यक्रम सञ्चालन गर्दै औषधि विज्ञानमा उच्च शिक्षा र अनुसन्धानको दायरा विस्तार गर्ने लक्ष्य लिएको छ ।