कोशीमा लागूऔषधविरुद्ध प्रहरीको सक्रियता, चार जिल्लाबाट लागू औषधसहित ८ जना पक्राउ

Breaking Nepal

आइतबार ,असार २८ , २०८३ २०:२७

विराटनगर / कोशी प्रदेश प्रहरीले लागू औषधविरुद्ध सञ्चालन गरिरहेको महाअभियानअन्तर्गत विभिन्न जिल्लाबाट आठ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाको साथबाट करिब तीन किलो गाँजा र झन्डै आठ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यसहित सञ्चालन गरिएको अभियानअन्तर्गत लागू औषध कारोबारमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउने, मनोपरामर्श प्रदान गर्ने तथा जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन भइरहेको छ । सोही अभियानका क्रममा संखुवासभा, सुनसरी, झापा र मोरङमा गरिएको छुट्टाछुट्टै कारबाहीमा आठ जना पक्राउ परेका हुन् ।

संखुवासभाको खाँदबारी नगरपालिका–८ अर्चलेमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा रत्नबहादुर मगरको घरमा खानतलासी गर्दा बोराभित्र लुकाएर राखिएको २ किलो ९५७ ग्राम गाँजा बरामद गरेको छ। घटनामा स्थानीय ७० वर्षीय रत्नबहादुर मगर पक्राउ परेका छन् ।

सुनसरीको कोशी गाउँपालिका–१ लौकही बजारमा भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल जाँच गर्ने क्रममा प्रहरीले १ ग्राम ८२० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ। उक्त घटनामा कोशी गाउँपालिका–६ का सुरेन्द्र महत्तो पक्राउ परेका छन् ।

यस्तै, इटहरी उपमहानगरपालिका–१ आदर्श टोलमा गरिएको चेकजाँचका क्रममा इटहरी–२० का ३६ वर्षीय हरिप्रसाद पराजुली ५१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

झापाको झापा गाउँपालिका–४ सुकुम्बासी बस्तीमा भारतबाट पैदल नेपाल प्रवेश गर्दै गरेका भारतको अररिया जिल्ला, पलासीका मोहम्मद मुक्तर र नसाद आलमको साथबाट १ ग्राम ७१० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। दुवै जनालाई नियन्त्रणमा लिइएको छ ।

मोरङको कानेपोखरी गाउँपालिका–५ कर्म टोलमा लागू औषध सेवन तथा कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी रमाइलोबाट खटिएको टोलीले एक घरमा छापा मार्दा ३ ग्राम ९०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ । घटनामा कानेपोखरी–५ का १९ वर्षीय संजय मुसहर, ४१ वर्षीय संजय चौधरी तथा लेटाङ नगरपालिका–३ का २४ वर्षीय रमेश सुबेदी पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउ परेका सबैमाथि लागू औषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।