Breaking Nepal

काठमाडौं । सर्लाहीमा आत्मदाहको प्रयास गरेका शिक्षक विवेक यादवको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा निधन भएको छ।
अस्पतालका निर्देशक डा. किरण नकर्मीका अनुसार यादवको सोमबार राति करिब २ बजे उपचारकै क्रममा मृत्यु भएको हो।
यादवले गत शुक्रबार दिउँसो आत्मदाहको प्रयास गरेका थिए। घटनापछि उनलाई हेलिकप्टरमार्फत तत्काल काठमाडौं ल्याइएको थियो। सोही दिन साँझ करिब ७ः३० बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरी सघन उपचार सुरु गरिएको भए पनि चिकित्सकहरूको प्रयास सफल हुन सकेन।
पारिवारिक स्रोतका अनुसार बायोलोजी विषयमा स्नातकोत्तर (एमएस्सी) उत्तीर्ण यादव विगत करिब एक वर्षदेखि मानसिक तनावमा रहेका थिए। उनी सर्लाहीको रामनगरस्थित एक विद्यालयमा बायोलोजी विषय अध्यापन गर्दै आएका थिए।
यस घटनासँगै पछिल्लो समय आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता बढेको छ। हालसम्म आत्मदाहका कारण दुई जनाको ज्यान गइसकेको छ भने मानसिक स्वास्थ्य र समयमै परामर्श सेवाको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता पुनः उजागर भएको छ।