नागरिक एपमा ‘रक्त सूचना’ सेवा, देशभरको रगतको मौज्दात अब रियल–टाइममा हेर्न सकिने

Breaking Nepal

मंगलबार ,असार ३० , २०८३ १२:२९

काठमाडौं– नागरिक एपमा ‘रक्त सूचना’ (Blood Information) सेवा थपिएसँगै देशभरका रक्तसञ्चार केन्द्रमा उपलब्ध रगतको मौज्दात अब रियल–टाइममा हेर्न सकिने भएको छ। नयाँ सुविधाले आवश्यक रक्त समूह कहाँ र कति परिमाणमा उपलब्ध छ भन्ने जानकारी एउटै डिजिटल प्लेटफर्मबाट प्राप्त गर्न सकिने व्यवस्था गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नागरिक एपमा एकीकृत गरिएको यो सेवामार्फत विभिन्न रक्तसञ्चार केन्द्रमा रहेको सबै रक्त समूहको मौज्दात सहज रूपमा अवलोकन गर्न सकिनेछ। यसले रगत आवश्यक परेका बिरामी, उनका आफन्त तथा स्वास्थ्य संस्थालाई आवश्यक जानकारी छिटो उपलब्ध गराउने अपेक्षा गरिएको छ।

प्रयोगकर्ताले आफूलाई आवश्यक रक्त समूह कुन केन्द्रमा उपलब्ध छ र त्यहाँ कति युनिट मौज्दात रहेको छ भन्ने विवरण नागरिक एपमै हेर्न सक्नेछन्। यसबाट आकस्मिक अवस्थामा रगत खोज्न लाग्ने समय घट्नुका साथै रक्त व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास मन्त्रालयको छ।

मन्त्रालयका अनुसार स्वास्थ्य सेवामा डिजिटल प्रविधिको प्रयोग विस्तार गर्ने रणनीतिअन्तर्गत ‘रक्त सूचना’ सेवा नागरिक एपमा समावेश गरिएको हो। यसले रक्तसञ्चार केन्द्रबीचको समन्वय सुदृढ गर्नुका साथै सेवा प्रवाहलाई पारदर्शी, छरितो र प्रविधिमैत्री बनाउन समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।